माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदशस्तरीय दुईदिने परामर्श बैठक आज सकिएको छ। हिजो बुधबारदेखि सुरु भएको बैठकमा प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन्।

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरूले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरूले पनि सम्बोधन गरेका थिए। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरेको हो। जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ।

भोलि शुक्रबारबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ। प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन्।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमका रूपमा जनतामा जाने माओवादीको तयारी छ।

सुझावित समाचार