एकपटक महात्मा गान्धीसित भेटघाटका लागि एक मारवाडी सेठ पुगे । मारवाडी वेशभूषामा सजिएका सेठले शिरमा निकै ठूलो पगरी बाँधेका थिए । कुराकानीका क्रममा उनले गान्धीसित सोधे– बापु, तपाईंका नाममा देशभरका जनता गान्धी टोपी लगाउँछन् । तर, तपाईं स्वयं भने यसको उपयोग गर्नुहुन्न, किन ?
मारबाडी सेठको प्रश्न सुनेर गान्धी हल्का मुस्कुराए । मुस्कुराउँदै उनले भने– सेठजी, तपाईंले बिल्कुलै ठिक भन्नुभयो । मैले पनि जनताले जस्तै टोपी लगाउनैपर्ने हो । तर, तपाईं एकपटक आफ्नो पगरी निकालेर हेर्नुहोस् त, यसबाट कम्तीमा पनि २० टोपी तयार हुन सक्छन् । जब २० टोपीबराबरको कपडा तपाईंजस्ता धनीमानी एक्लैले आफ्नो पगरी लगाएर सिध्याउनुहुन्छ भने बिचरा १९ मानिस त नांगो शिर रहनैपर्छ नि होइन र ? हो, ती १९ मानिसमध्ये म पनि एक हुँ ।
गान्धीको जवाफ सुनेर ती मारबाडी सेठ निरुत्तर बने । उनी केही बोल्नै सकेनन् । तर, उनी चुप भए पनि गान्धीले भने आफ्नो भनाइ जारी नै राखे । उनले भने– धनीमानीको अनावश्यक सञ्चय र अपव्ययले आर्थिक रूपमा कमजोर मानिसलाई आफ्नो हिस्साबाट वञ्चित राख्छ । यस्तो अवस्थामा मजस्ता धेरै मानिसले टोपीबाट वञ्चित रहेर त्यस अभावको पूर्ति गर्नैपर्छ ।