महासमितिको प्रतिवेदनमाथि कांग्रेसमा जुटेन सहमति

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

उपसभापति र महामन्त्रीसँग देउवाको छलफल निष्कर्षविहीन, केन्द्रीय समिति बैठक चार दिन धकेलियो 

महासमिति बैठकले पास गरेको प्रतिवेदनमाथि सहमति जुटाउने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । मंगलबार निजी निवास बुढानीलकण्ठमा उपसभापति र महामन्त्रीहरूसँग छलफलबाट सहमति जुटाउने देउवाको प्रयास असफल भएको हो । 

सहमति नजुटेपछि बुधबार डाकिएको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक आइतबारसम्मका लागि स्थगित गरिएको सूचना जारी गरेका छन् । प्रतिवेदनमा सहमति जुटाउने प्रयासका लागि सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । 

धनराज गुरुङ उपसभापति, कांग्रेस

बाहिर एक–दुई विषयले चर्चा पाए पनि पार्टीभित्रका धेरै विषयमा छलफल गर्नुपर्नेछ, तर मंगलबार सबै विषय टुंग्याउन नसकेका कारण समय पुगेन । त्यसैले छलफललाई निरन्तरता दिने गरी बिहीबार बस्ने समझदारीसहित बैठक टुंगिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ । थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ । यस विषयलाई मध्यमार्गी बनाएर जानेबारे देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । तर, सहमति नजुटेपछि बैठक पुनः बिहीबार बिहान बस्ने गरी बोलाइएको छ । 

उपसभापति गुरुङले बाहिर एकाध विषयले चर्चा पाए पनि धेरै विषयमा छलफल गर्नुपर्ने भएकाले समय अभावका कारण निरन्तरता दिने समझदारीसहित बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए । ‘बाहिर एक–दुई विषयले चर्चा पाए पनि पार्टीभित्रका धेरै विषयमा छलफल गर्नुपर्नेछ, तर मंगलबार सबै विषय टुंग्याउन नसकेका कारण समय पुगेन,’ उनले भने, ‘त्यसैले छलफललाई निरन्तरता दिने गरी बिहीबार बस्ने समझदारीसहित बैठक टुंगिएको छ ।’ 

प्रतिवेदनलाई संशोधन गरेर मध्यमार्गी बनाउन सभापति देउवाले पदाधिकारीलाई मनाउने प्रयास गरिरहेका छन् । बैठकअघि नै प्रतिवेदनलाई मध्यमार्गी बनाउनकै लागि छलफल गरेर निष्कर्षमा पु¥याउने उद्देश्यले सभापति देउवाले कुराकानी गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

महासमितिको प्रतिवेदन केन्द्रीय समितिबाट पास हुन बाँकी छ । महाधिवेशनको मिति, चुनावी गठबन्धनबारे कुरा मिलेको छैन । २३ साउनबाट बैठक सुरु भए पनि कुराकानी नमिल्दा बैठक पटक–पटक स्थगित हुँदै आएको छ । केन्द्रीय समितिमा दुई उपसभापति, दुई महामन्त्री र सभापतिले बोल्न बाँकी छ । पाँचै शीर्ष नेताले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने कांग्रेसको तयारी छ । 

सुझावित समाचार