मंगलबारदेखि सुरु भएको ‘नाडा अटो सो’बारे केही बताइदिनुहोस् न ।
अटोमोबाइल क्षेत्रबारे आमउपभोक्तासम्म पर्याप्त जानकारी पुर्याउन हामीले हरेक वर्ष नाडा अटो सो सञ्चालन गर्दै आएका छौँ । यस वर्ष पनि ११ देखि १६ भदौसम्म यो सो चल्नेछ । हामीले यस वर्षको अटो सोमा ७५ हजारभन्दा बढी ‘भिजिटर’ आउने अनुमान गरेर त्यसैअनुरूपको व्यवस्थापन गरेका छौँ । प्रवेश टिकटका लागि खल्तीसित सहकार्य गरेका छौँ । नर्मल टिकटको मूल्य दुई सय रुपैयाँ तोकेका छौँ भने विद्यार्थीका लागि एक सय ५० रुपैयाँ मूल्य निर्धारण गरेका छौँ । दुवै टिकट खल्तीमार्फत अनलाइन बुकिङ भएमा त्यसमा २० प्रतिशत छुटको पनि व्यवस्था गरेका छौँ ।
यसपटकको अटो सो इभीमय भएको देखिन्छ नि ?
अहिले सुजुकीबाहेक सबै कम्पनी इभीमा गइसकेका छन् । बजार र समयको मागअनुसार अहिले इभीमा नगई नहुने अवस्था पनि छ । अहिले ग्लोबल्ली पनि ‘क्लिन इनर्जी’ को बजार र माग निकै बढेको छ । यसले वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि सकारात्मक योगदान दिन्छ । महँगिँदै गएको पेट्रोलियम पदार्थको तुलनामा हाम्रो घरेलु उत्पादन बिजुलीबाट चल्ने सवारीको माग दिनदिनै बढिरहेको हुनाले यसपटकको अटो सोमा इभीको प्रभाव बढी देखिएको हो ।
समग्र अर्थतन्त्र नै लयमा नभएको समयमा अटो सोले अटोमोबाइल बजारलाई गति दिन सक्ला त ?
पक्कै दिन्छ । अटोमोबाइलको बजार भनेको गाडी मात्रको व्यापार होइन । अटोमोबाइलको व्यापारसँगै बिमा, वर्कसप, लुब्रिकेन्ट्स, ब्याट्री, स्पेयर पार्टस, मिडिया आदिको व्यापार पनि सँगसँगै जोडिएर आउँछ । हामीले यी सबैको ‘इकोसिस्टम’लाई बुझिदियौँ भने अटोमोबाइल क्षेत्रले लिने गतिले देशको समग्र अर्थतन्त्रलाई नै चलायमान गराउन सक्छ ।