लिस्वन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट व्यावसायिक फुटबल खेलेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करिअरकै अन्तिम क्लब साउदी अरेबियाको अल नासेर हुने बताए
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्न्यासबारे खुलासा गरेका छन् । साउदी अरेबियाको प्रो लिग खेलिरहेका रोनाल्डोले दुई वा तीन वर्ष सक्रिय फुटबल खेल्ने स्पष्ट पारेका छन् । उनले अल नासेर करिअरकै अन्तिम क्लब हुन सक्ने जनाएका छन् । ‘मलाई थाहा छैन, सन्न्यास लिने समय ? तर, यदि तत्कालै सन्न्यास लिनुपर्यो भने अल नासेर हुनेछ,’ पोर्चुगलको मिडियासँग कुराकानी गर्दै रोनाल्डोले भने, ‘अल नासेरमा दुई वा तीन वर्षसम्म खेल्नेछु त्यसपछि सन्न्यास हो ।’
गत साता स्पोर्टिङ लिस्वनबाट रोनाल्डोले सन्न्यास लिन सक्ने स्थानीय मिडियाले समाचार प्रकाशित गरेका थिए । लिस्वनबाट उनले व्यावसायिक फुटबल सुरु गरेका हुन् । तर, उनले घरेलु टोली नभएर नासेर नै अन्तिम क्लब हुने दाबी गरेका छन् । सन् २०२३ को जनवरीमा उनी म्यानचेस्टर युनाइटेड छाडेर अल नासेरमा आबद्ध भएका हुन् ।
साउदी प्रो लिगमा अहिलेसम्म उपाधिविहीन भएका रोनाल्डोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियालाई आफूतिर तान्न सफल भएका छन् । ‘म र मेरो परिवार साउदीमा खुसी छन्, साउदी अरेबियामा अझ धेरै योगदान दिन बाँकी छ,’ आफ्नो योजनाबारे उनको भनाइ छ, ‘यहाँको फुटबल विकास गर्न आएको हुँ । त्यो प्राप्ति नहुँदासम्म सक्रिय रूपमै खेलिरहनेछु ।’
करिअरमा ८ सय ९८ गोल
रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म एक सय ३० गोल गरेका छन् । समग्रमा क्लब तथा राष्ट्रिय टोली पोर्चुगलबाट उनले आठ सय ९८ गोल गरेका छन् । व्यावसायिक फुटबल जीवनमा उनले लिस्वन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड तथा युभेन्ट्सजस्ता चर्चित क्लबबाट खेले । म्याड्रिडमा एक दशक बिताउँदा उनले पाँचपटक युरोपियन च्याम्पियन्स लिग, चार स्पेनिस ला लिगा र फिफा विश्वकपजस्ता उपाधि जितेका थिए । उनले चारपटक म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए ।
रोनाल्डोले राष्ट्रिय टोलीमा आवश्यकता रहँदासम्म खेल्ने बताए । ‘अहिले पोर्चुगलको राष्ट्रिय टोलीमा मेरो आवश्यकता छ । जुन दिन मेरो आवश्यकता हुँदैन । त्यही दिनबाट बिदा लिन्छु,’ उनले भने, ‘तर त्यो निर्णय लिन निकै गाह्रो हुनेछ ।’ अहिले पोर्चुगल नेसन्स लिगको तयारीमा छन् । ‘अहिले हामी नेसन्स लिगको तयारीमा छौँ । पुनः एकपटक प्रतिष्ठित प्रतियोगिता खेल्ने योजना छ,’ उनले भने ।
पोर्चुगलले ५ सेप्टेम्बरमा क्रोएसिया, ८ सेप्टेम्बरमा स्कटल्यान्ड र १२ अक्टोबरमा पोल्यान्डको सामना गर्नेछ । स्कल्यान्डसँग १५ अक्टोबरमा पोर्चुगलको खेल छ ।
योजना छैन प्रशिक्षक बन्ने
धेरैजसोले सन्न्यास लिएपछि रोनाल्डो प्रशिक्षक भूमिकामा देखिने दाबी गरेका छन् । तर, सन्न्यासपछिका दिनमा आफू स्वतन्त्र रूपमा जीवन बिताउने उनको योजना छ । एक म्यानेजरका रुपमा आफूले कहिले कल्पना नगरेको उनको भनाइ छ । ‘राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि प्रशिक्षक बन्ने हल्ला छ । तर, म प्रशिक्षकका रूपमा जीवन बिताउन चाहदिँन,’ उनले भने, ‘यूवा खेलाडीहरूलाई प्रेरित गर्ने योजना बनाउने छु ।’
च्याम्पियन्स लिगमा उनले एकस य ८३ खेलमा कीर्तिमानी रुपमा एक सय ४० गोल गरेका छन् । च्याम्पियन्स लिगमा उनले बार्सिलोनाका पूर्व खेलाडी लियोनल मेसीले भन्दा ११ गोल बढी गरेका छन् ।