अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पाकिस्तान र बंगलादेशलाई स्लो ओभर बलिङ गरेको जनाउँदै अंक कटौती गरेको छ । रावलपिन्डीमा आइतबार भएको पहिलो टेस्टमा बंगलादेशले पहिलोपटक पाकिस्तानमाथि १० विकेटको जित निकालेको थियो । यसै खेलमा दुवै टोलीले ढिलो बलिङ गरेको आइसिसीले जनाएको छ ।
आइसिसीले विश्व टेस्ट च्याम्पियनसिपमा पाकिस्तानको ६ र बंगलादेशको तीन अंक घटाएको हो । महत्वपूर्ण तीन अंक घट्दा बंगलादेश सातौँ नम्बरमा सीमित भएको छ ।
यसअघि बंगलादेश छैटौँ स्थानमा थियो । दक्षिण अफ्रिका २८ अंकका साथ छैटौँ स्थानमा उक्लेको छ । ६ खेल खेलेको पाकिस्तान आठौँ स्थानमै यथावत् रह्यो । पाकिस्तानले दुई जित निकाल्दै १६ अंक बटुलेको छ । बंगलादेशले २१ अंक हात पारेको छ ।
पाकिस्तानले बंगलादेशविरुद्धको टेस्टमा निर्धारित समय भित्र ६ ओभरकम फ्याँकेको थियो । आइसिसीले पाकिस्तानलाई खेलबाट प्राप्त हुने रकम मध्ये ३० प्रतिशत म्याच फी कटौती गरेको छ । पाकिस्तान मात्र नभएर बंगलादेशलाई पनि फाइन लगाएको छ । बंगलादेशले १५ प्रतिशत मात्र फाइन लगाएको छ । विश्व टेस्ट च्याम्पियनसिपमा पाकिस्तान र बंगलादेशसँग समान दुई टेस्ट सिरिज बाँकी छन् । यी दुवै टेस्ट सिरिज जित्दा मात्र दुवै टोलीका फाइनल खेल्ने सम्भावना रहन्छ । दुईमध्ये एकमा पराजित हुँदा बंगलादेश र पाकिस्तानको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ ।
सकिवको १० प्रतिशत म्याच फी कटौती
बंगलादेशका अलराउन्डर तथा पूर्वकप्तान सकिव अल हसनमाथि आइसिसीले जरिवाना लगाएको छ । सकिवले खेल दौरान पाकिस्तानका मोहमद रिजवानविरुद्ध ३३औँ ओभरमा बलिङ गरेका थिए । उनको बल रिजवानको शरीरमा सीधै लागेको थियो । यद्यपि, रिजवान घाइते नभए पनि बलरले जानाजान ब्याट्सम्यानको शरीरमै लाग्ने गरी बल फयाकेको ठहर आइसिसीले गरेको छ । खेलका अम्पायरको रिपोट अनुसार सकिवलाई खेलबाट प्राप्त हुने रकम मध्ये १० प्रतिसत कटौती गरेको आइसिसीले जनाएको छ । आइसिसीका अनुसार सकिवले कोर्ड अफ लेवल १ को नियम तोडेका हुन् ।
७३ अतिरिक्त रन
पाकिस्तान र बंगलादेशका बलरले धेरै अतिरिक्त रन दिएका थिए । समग्रमा दुवै देशका बलरले ७३ अतिरिक्त रन दिए । यसै कारण यो खेलमा स्लो ओभर भएको हो । बंगलादेशका बलरले पहिलो इनिङ्समा २४ अतिरिक्त रन दिए । यसक्रममा बलरले १२ नोबेल र एक वाइड फ्याँके । बंगलादेशविरुद्ध पाकिस्तानी बलरले पहिलो इनिङ्समा ३२ अतिरिक्त रन दिएका थिए । जसमा २१ लेगबाई समावेश थियो ।
बंगलादेशी बलरले ६ नोबल र दुई वाइड बलिङ गरे । दोस्रो इनिङ्समा पाकिस्तानले ११ अतिरिक्त रन पाएको थियो । बंगलादेशले जित निकालेको इनिङ्समा पाकिस्तानका बलरले ६ अतिरिक्त रन दिए ।