युएईको अबुधाबी कन्ट्री क्लबबाट खेल्दै एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमा लाओसको योङविरुद्ध रेखा पौडेलले गरिन् गोल
राष्ट्रिय महिला टोलीकी युवा स्ट्राइकर रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । रेखाले डेब्यु खेलमै गोल गरेकी छिन् । लिगको प्रारम्भिक चरणमा युएईको अबुधाबी कन्ट्री क्लबबाट प्रतिनिधित्व गर्दै उनले ऐतिहासिक गोल गरेका हुन् । लिगको समूह ‘ए’को पहिलो खेलमा अबुधाबीले लाओसको योङविरुद्ध २–१ को जित निकाल्यो ।
दोस्रो हाफको तेस्रो मिनेटमै रेखाले अबुधाबीलाई २–१ को अग्रता दिलाएकी थिइन् । उनकै गोलको सहयोगमा अबुधाबीले जित निकालेको हो । एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी रेखा निकै दंग छिन् । उनले आउने खेलमा थप मिहिनेत गर्नुपर्ने बताइन् । ‘च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गर्ने अवसर पाउँदा निकै खुसी छु,’ उनले भनिन्, ‘आउने खेलमा अझ मिहिनेत गर्नेछु ।’
रेखा आबद्ध अबुधाबी युएईको महिला लिगको सर्वाधिक सफल टोली हो । अबुधाबीले सर्वाधिक १० पटक लिगको उपाधि जितेको छ । लिगमा अबुधाबीले २८ अगस्टमा म्यानमारको म्यावाडीसँग प्रतिस्पर्धा गर्नेछिन । त्यसपछि ३१ ऋगस्टमा साउदी अरेबियाको अल नासेरसँग अबुधाबीको खेल छ । रेखाले गत वर्ष भारतको महिला लिगमा ओडिसा एफसीबाट प्रतिस्पर्धा गरेकी थिइन् । सन् २०१९ मा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमार्फत रेखाले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् ।
एपिएफ नसाफसँग पराजित
एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपिएफ क्लब उज्वेकिस्तानको पिएफसी नासाफसँग १–० ले पराजित भएको छ । मलेसियाको लिकास रंगशालामा भएको खेलमा एपिएफले आफ्नो पहिलो खेल गुमाएको हो । एपिएफले नासाफविरुद्ध पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । मध्यान्तरपछि एपिएफको डिफेन्स कमजोर हुँदा नासाफले अग्रता गोल गर्यो ।
दोस्रो हाफको चौथो मिनेटमा नाइबर लरेन्सले नासाफलाई १–० को अग्रता दिलाइन् । उनको गोल नै निर्णायक बन्यो । नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपिएफ पहिलो टोली हो । हारसँगै एपिएफको समुह चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । नेपालको एपिएफ क्लब समूह ’सी’ मा छ । एपिएफले बुधबार मलेसियाको घरेलु टोली सबाहविरुद्ध खेल्नेछ ।
एपिएफले नेपालको महिला लिग च्याम्पियनसिपको विजेताको हैसियतमा च्याम्पियनसिप खेलिरहेको छ । च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन् । च्याम्पियनसिपमा सन् २०२४ को फिफा वरीयताको शीर्ष आठमा रहेका राष्ट्रका क्लबहरूले सीधै समूह चरणमा स्थान बनाएका छन् । बाँकी १४ राष्ट्रका क्लबले समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ । एएफसीले १४ राष्ट्रका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ । चार समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन् ।