नेपाली तीर्थयात्री बोकेको बस भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटनामा पर्दा ३६ जना घाइते भएका छन् । बाराको बारागढी गाउँपालिका–३, मुक्तिपालिया गाउँका ४३ तथा चालक र सहचालक गरी ४५ जना सवार ना ७ ख ६४४६ नम्बरको बस शनिबार राति दुर्घटनामा परेको हो।
उनीहरू शनिबार मात्र मूर्तिपालियाबाट बोलबम तीर्थयात्राको जल लिएर झारखण्डको देवघरतर्फ लागेका थिए । ३६ घाइतेलाई मुश्री घरारीको निजी अस्पताल र सदर अस्पतालमा भर्ना गरिएकामा २६ जना डिस्चार्ज भएका छन् । १० जनाको अहिले पनि उपचार भइरहेको बसमा सवार अमर पनापतीले जानकारी दिए।
उनका अनुसार सबै घाइतेको अवस्था सामान्य छ। तीव्र गतिको ट्रकले बसलाई ठक्कर दिएको थियो । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल पनि घाइतेलाई भेट्न बिहार पुगेका छन्।
सुनकोशीमा तीनजना अझै बेपत्ता
सिन्धुलीको गोलन्जोर गाउँपालिका– १, कुँडुलेबाट सुनकोशी नदीमा खसेको पिकअप गाडी फेला परेको छ । तर, बेपत्ता तीनजनाको अवस्था अझै अज्ञात छ। गोताखोर र स्थानीयको टोलीले नदीमा खसेको प्रदेश नम्बर ३–०१–०२३ च ६३६६ नम्बरको आइसुजू पिकअप गाडी फेला पारेको हो । गाडीलाई क्रेनले तानेर किनारमा ल्याइएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । खोटाङको हलेँसीबाट काठमाडौं जाँदै गरेको गाडी शनिबार दुर्घटनामा परेको थियो । गाडीमा सवार भक्तपुर जगातीका अबिन बाके (चालक), प्रनित स्यागु र बलराम घटुवा बेपत्ता छन्। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी, विपत् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी निरीक्षक दिनेश देउजाको कमान्डमा १० जनाको गोताखोर टोली परिचालन भएको छ ।
सामान्य अवस्थाका घाइतेलाई भारत फर्काउने तयारी
गत शुक्रबार मस्र्याङ्दी नदीमा दुर्घटना भएको यात्रुबसका घाइतेमध्ये अवस्था सामान्य हुँदै गएकालाई भारत फर्काउन तयारी थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये अवस्था सामान्य भएका सातजनालाई भारत फिर्ता पठाउने तयारी थालिएको अस्पतालले जनाएको हो । ‘यात्रा गर्न सक्ने अर्थात् स्वास्थ्यकर्मीको निगरानीमा रहेर एयरबसमार्फत यात्रा गर्न सक्ने अवस्था भएकालाई चिकित्सकको सल्लाहमा फिर्ता पठाउने तयारी गरेका छौँ । उपचार गरिरहेका चिकित्सकले उनीहरू यात्रा गर्न सक्ने किटान गरेपछि मात्रै पठाउने तयारी भएको हो,’ अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने ।