नेपाल स्टक एक्सचेन्ज् (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज आइतबार नेप्से ७९.८८ अंकले घटेर दुई हजार आठ सय ९४.५७ को विन्दुमा कायम भएको हो।
आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिद–बिक्री हुँदा रु. १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सयबराबरको कारोबार भएको छ।
लघुवित्त समूह १.०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूह ३.८३, बैंकिङ ३.३१, वित्त ३.५० र अन्य समूह ३.५५ प्रतिशतले घटेको छ। विकास बैंक २.४४, होटेल तथा पर्यटन २.३८, जलविद्युत् ३.०४, जीवन बिमा २.५०, उत्पादन तथा प्रशोधन १.९८, म्युचुअल फन्ड १.५९, निर्जीवन बिमा २.३२ र व्यापार समूह १.७६ प्रतिशतले घटेको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मन्दाकिनी हाइड्रोपावर लिमिटेड ९.९१ प्रतिशत, कुमारी बैंक लिमिटेड डिभेञ्चर–८६ को सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेर संख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै रु. ८४ करोड ६८ लाख १७ हजारबराबरको २२ लाख ७८ हजार ७८७ कित्ता सेयर किनबेच भएको छ।