ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट साढे १३ लाखभन्दा बढी संकलन

फाइनल खेलबाट थप ८ लाख उठ्ने अपेक्षा

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट साढे १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। फाइनलअघिका खेलहरूमा आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट १३ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन गरेको हो।

जिल्लाको ब्रान्ड जस्तै बनेको लाखेजात्राको अवसरमा खेलाइने ‘ताप्लेजुङ गोल्डकप’का क्वार्टर फाइनलका चार र सेमिफाइनलका दुई गरी ६ खेलका  टिकट बिक्रीबाट सो रकम संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार क्वार्टर फाइनलका चार खेलबाट सात लाख नाै हजार आठ सय रुपैयाँ र सेमिफाइनलका दुई खेलबाट ६ लाख ५२ हजार आठ सय रुपैयाँ संकलन भएको छ। सेमिफाइनलका दुई खेलमध्ये पहिलो खेलबाट तीन लाख आठ हजारआठ सय र दोस्रो खेलबाट तीन लाख ४४ हजार रुपैयाँ संकलन भएको उनले बताए।

लाखेजात्रा सञ्चालन समितिले क्वाटर फाइनलका चार खेलका लागि जनही एक सय, सेमिफायनलका दुई खेलका लागि दुई सय र फाइनल खेलका लागि जनही दुई सय पचास रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ। सोमबार हुने फाइनल खेलमा करिब आठ लाख रुपैयाँ उठ्ने अपेक्षा गरिएको समितिका सचिव टिकेन्द्र नेपालीले बताए।

सुझावित समाचार