नलगाडमा नयाँ हाकिम हाजिर गराउन सर्वदलीय बैठक

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

जाजरकोटको नलगाड नगरपालिका सरुवा भएर आएका हाकिमलाई हाजिरी गराउन सर्वदलीय बैठक आह्वान गरिएको छ।

बजेट निर्माणदेखि पालिकाको सार्वजनिक महत्त्वलगायतका विषय गुपचुप हुँदै आएको नगरपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई हाजिर गराउन राय लिने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको हो।

संघीय, प्रदेश तथा स्थानीय तहको कानुनमा कतै पनि प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउँदा सर्वदलीय बैठक गरी राय लिने कानुनी आधार तथा नजिर छैन। कर्मचारी सरुवा भएर जाने र आउने नियमित प्रक्रिया भए पनि नगरप्रमुख डम्बर रावतले प्रचलित कानुनी प्रक्रियाविपरीत छलफलका लागि भन्दै राजनीतिक दलहरूलाई गुहारेका हुन्।

नलगाड नगरपालिकामै घर भएका नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत शाही र सरुवा भई गएका दिनेश भट्टराई शाखा अधिकृत नै हुन्। वर्ष दिनसम्म नलगाडमा बसेर विकास निर्माणको कार्यभन्दा पनि विवादको विषय मात्र बनाएका भट्टराईको विगतको इतिहाससमेत विवादित छ। भट्टराईले सेवा प्रवेशपछि जुम्लाको गुठीचौर गाउँपालिकाबाट काम सुरु गरेका थिए। त्यहाँबाट दुई महिनामै बाहिरिँदै गर्दा जुम्ला विमानस्थलमा स्थाानीयवासी तथा जनप्रतिनिधिबाट दुर्व्यवहारमा परेका थिए।

नलगाड आएपछि पनि राजनीतिक दलको छहारीमा गुटबन्दी गरेको आरोप लाग्दै आएको थियो। सरुवा भएर आएको १५ दिन पुग्दासमेत निमित्त  प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जुनियार कर्मचारीलाई दिएका थिए। उनै भट्टराईलाई नै कार्यालय प्रमुख बनाउने कसरतमा नगरप्रमुख लागेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएपछि विवाद झन् बढेको छ।

सुझावित समाचार