पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। शनिबार राति घरको मूलगेटको छेउमा कालो झोलामा शंस्कास्पद वस्तु फेला परेको थियो।
उक्त शंकास्पद वस्तुलाई तेघरी ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले झोलामा माटोभित्र एउटा टिफिन बक्स फेला परेको बताए।
‘टिफिन बक्सलाई सेनाको टोलीले डिस्पोज गरेको छ,’ उनले भने, ‘त्यसभित्र के थियो भन्ने थाहा हुन सकेको छैन।’ शंकास्पद वस्तु कसले राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
उक्त घरमा देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा बस्दै आएका छन्। सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउँदा त्यही घरमा बस्छन्।