सरकारमाथि प्रचण्ड प्रहार- ‘भ्रष्टाचारीको रक्षाका निम्ति कांग्रेस–एमालेको सरकार’

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार भ्रष्टाचारीको रक्षाका निम्ति बनाइएको दाबी गरेका छन् । कांग्रेस र एमालेका नेताहरूले बैठक गरेर माओवादी नेतृत्वको सरकार हटाएजस्तो देखिए पनि सारमा दलाल पुँजीपति, बिचौलिया, कमिसनखोरहरूले सिँगारपटार गरेर सरकार बनाइएको प्रचण्डको दाबी छ । 

‘दलाल पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरू, जाली फटाहाहरूले सिँगारपटार गरेर यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीकै सरकार हो । यो भ्रष्टाचारीको रक्षाका निम्ति बनाइएको सरकार हो,’ शनिबार राजधानीमा आयोजित नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा प्रचण्डले भने, ‘केही फरार अभियुक्त गिरफ्तार भए । उनीहरूमा खैलाबैला मच्चियो । अब हाम्रो पालो पनि आउनै लाग्यो भन्ने ठानेपछि मात्रै यो सरकार बनेको हो । यो डरछेरुवाहरूकै सरकार हो ।’ 

माओवादी नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समस्या समाधानका लागि काम गर्दैगर्दा हट्नुपरेको उनको दाबी छ । ‘जब हामीले भ्रष्टाचारका एकपछि अर्को फाइल खोल्दै गयौँ । जब हामीले सुशासनको पक्षमा आफ्नो अभियान अगाडि बढाउँदै लग्यौँ । जब हामीले सामाजिक न्यायको पक्षमा उत्पीडित वर्ग, समुदायको पक्षमा काम अगाडि बढाउँदै लग्यौँ । जब हामीले आर्थिक समस्या समाधानका निम्ति एकपछि अर्को निर्णय गरेर आर्थिक समस्याको समाधान गर्दै लग्यौँ । तब, यो देशका दलाल र बिचौलियामा छटपटी पैदा भयो । तिनीहरूभित्र आतंक पैदा भयो,’ उनले भने । 

अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा बढाउने काम गरेको पनि उनले दाबी गरे । युगान्तकारी परिवर्तन माओवादी क्रान्तिकै कारण भएको दाबी गर्दै प्रचण्डले प्राप्त उपलब्धि कसैले पनि उल्ट्याउन नसक्ने जिकिर गरे । 

परिवर्तन संस्थागत गर्ने क्रममा भ्रष्टाचार महारोगका रूपमा रहेको उनले बताए । भ्रष्टाचार निर्मूल नगरेसम्म राष्ट्र र जनताको विकास र समृद्धि सम्भव नहुने उनले बताए । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध युद्धको शंखघोष गरेको उनले जिकिर गरे । भ्रष्टाचारीमाथि कारबाहीको नयाँ अभियान सुरु गरेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार