भ्रष्टाचारको विरोधमा बालुवाटार क्षेत्रमा युवाको प्रदर्शन

प्रधानमन्त्रीनिवासतर्फ जान खाेजेपछि सुरक्षाकर्मीसँग ठेलामठेल, बालुवाटार क्षेत्रमा तनाव

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

भ्रष्टाचारविरोधी अभियानमा उत्रिएका युवाहरूले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीको सरकारीनिवास रहेको बालुवाटार क्षेत्र पुगेका युवाले सडकमा प्रदर्शन गरेका हुन्।

बालुवाटार घेर्न भन्दै जम्मा भएका युवालाई सुरक्षाकर्मीले प्रधानमन्त्रीनिवास क्षेत्रतर्फ प्रवेश गर्न रोकेपछि त्यसक्षेत्र भने केही समय तनावग्रस्त बनेको थियो। 

अघिल्लो शनिबार पनि युवाले यसैगरी प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएका युवाले भ्रष्टाचारी मुर्दावाद, भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद खारेज गर, देश लुट्न पाइँदैन–भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकार चाहिँदैन भन्दै नाराबाजी गरेका छन्। 

प्लेकार्डसमेत लिएर जम्मा भएका युवाले बिजुलीको बक्यौता नतिर्ने उद्योगीलाई कारबाही गर, २२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, ठूला घरानियालाई संरक्षण गर्न बन्द गर, भुटानी शरणार्थी काण्डका दोषीलाई कारबाही गर, वित्तीय पीडितलाई न्याय दे, सहकारी पीडितलाई न्याय दे, गिरीबन्धु टी स्टेट प्रकरणका दोषीलाई कारबाही गर भन्दै नाराबाजी गरिरहेका छन्।

सुझावित समाचार