मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ। कविलासी नगरपालिकाको पिपरियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गए राति ९:३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनकाे घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए। ‘साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको, तर साइकलचालक फरार छन्,’ उनले भने, ‘पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकलचालक डराएर फरार भएको हुन सक्छ।’ 

साइकलचालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। यादवको टाउकाको पछाडिको भागमा गम्भीर चोट लागेको छ। 

नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य रहेका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। 

सुझावित समाचार