पूर्वीनाकाबाट ई–रिक्सा आयात बढ्यो

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात बर्सेनि बढिरहँदा परम्परागत पाइडल रिक्सा लोप भएका छन्। पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्यबराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए।

उनका अनुसार आर्थिक वर्ष ०८०/८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्यबराबरको चार हजार ६४५  ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ। यसअघि आव ०७९/८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो। आव ०७९/८० मा रु. १६ करोड ७१ लाख १९ हजार दुई सय १३ मूल्यबराबरको एक हजार ८५९ ई–रिक्सा आयात भएको थियो।

ई–रिक्साको आयात महसुलबापत मेची भन्सार कार्यालयले विगत पाँच वर्षमा रु. ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको जनाएको छ। आव ०७६/७७ मा यही नाकाबाट रु. आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्यबराबरको एक हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव ०७७/७८ मा रु. आठ करोड ७२ लाख सात हजार ९९९ मूल्यबराबरको एक हजार ११५  आयात भएको थियो।

तथ्यांकले ई–रिक्साको आयात बर्सेनि निरन्तर बढेको देखाउँछ। आव ०७८/७९ मा रु. १३ करोड ९८ लाख १७ हजार १५० मूल्यबराबरको एक हजार ५१३ वटा ई–रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो।

विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ। विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन्। विद्युतीय रिक्सा ब्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधा भएको छ।

विगतमा परम्परागत रिक्सा चलाउनेहरूले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन्। यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै विगत पाँच वर्षमा रु. दुई करोड ४० लाख १३ हजार २४७ मूल्यबराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ।

मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांकअनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरूले प्रयोग गर्ने तीनपांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापनपत्रबापत रु. पाँच सय र मूल्य अभिवृद्धि करबापत रु. ६५ मात्र महसुल बुझाउनुपर्दछ।

सुझावित समाचार