जमिनको भोगाधिकार विवाद समाधान नहुँदा कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ।
घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम नभएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताए।
जमिनको स्वामित्व निर्क्याेल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोहीअनुरूप घोडाघोडी नगरपालिकाको वडा नम्बर २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको थियो।
नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो। कम्पनीले रु. नौ करोड ८६ लाख पाँच हजार ५७० मा दुई वर्षभित्र भवन निर्माण गर्न ०७८ वैशाख २९ गते सम्झौता गरेको थियो। अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ।