स्टार्टअपमा लाग्न युवालाई प्रधानमन्त्रीको आह्वान

सबैखाले सहयोग गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्टार्टअपका लागि अनुकूल वातावरण बनेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको ‘स्टार्टअप नेसन–२०३०’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीका अवसर सिर्जना हुने गरी स्टार्टअपमा लाग्न युवाहरूलाई आह्वान गरे । 

प्रधानमन्त्री ओलीले स्टार्टअपलाई प्राथमिकता राखेको बताउँदै उत्पादन बढाउने, सेवालाई गति दिने, रोजगारी बढाउने, नवीन सोचका साथ युवाहरू स्टार्टअपमा लाग्नुपर्ने बताए । 

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअपलाई अगाडि बढाउन सरकारले सबै खालका सहयोग गर्ने बताए । उनले सबै सिर्जनशील युवाहरूलाई स्टार्टअपका माध्यमबाट उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न आह्वानसमेत गरे । 

महासंघको इन्भेस्टमेन्ट कम्पनीले स्टार्टअपमा लगानी गर्ने

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले स्टार्टअपमा लगानी गर्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए  । महासंघको पहलमा १० अर्ब रुपैयाँको लगानीमा इन्भेस्टमेन्ट कम्पनी स्थापना भएको बताए । तर, यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले पनि कम्पनीमा लगानी गर्न सक्ने उनको भनाइ छ । 

स्टार्टअप कार्यक्रमका लागि करिब एक दशकअघिदेखि बजेट विनियोजन गर्न थाले पनि पछिल्लो समय मात्रै स्टार्टअपको औपचारिक परिभाषा भएको उनको भनाइ छ । चार महिनाअघि लगानी सम्मेलनमा परिमार्जन गरिएका आठ ऐनमध्ये औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश गरिएको ढकालले बताए ।

सुझावित समाचार