प्रतियोगितास्थलको अनुगमनपछि खेलकुदमन्त्री चौधरीले भने- सुर्खेतको आवासबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अन्तरक्रिया गर्दा वर्तमान परिस्थितिमा यहाँ सबै खेल आयोजना गर्न सकिने अवस्था देखिएको छैन । सुर्खेतमा हुन नसक्ने खेल नेपालगन्ज र कोहलपुरमा गर्ने योजना छ ।
संरचना र आवासको समस्या देखिने भएपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल सुर्खेतमा नहुने भएका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बुधबार दशौँ राष्ट्रिय प्रतियोगिता आयोजना हुने खेल मैदानको निरीक्षण गर्दै सुर्खेतमा सवै खेल नहुने बताएका हुन् ।
‘सुर्खेतको आवासबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अन्तरक्रिया गर्दा वर्तमान परिस्थितिमा यहाँ सबै खेल आयोजना गर्न सकिने अवस्था देखिएको छैन,’ उनले भने, ‘सुर्खेतबाट नेपालगन्ज र कोहलपुर नजिक छ । सुर्खेतमा हुन नसक्ने खेल यी ठाउँमा गर्ने योजना छ ।’
कर्णालीमा पहिलोपटक आयोजना हुने प्रतियोगिता मंसिरको पहिलो सातादेखि सुरु हुनेछ । सुर्खेतमा आवश्यकताअनुसार भौतिक पूर्वाधार र खेलाडीका लागि आवासमा समस्या आउने देखिएपछि केही खेल नेपालगन्ज र कोहलपुरमा सारिने मन्त्री चौधरीले बताए ।
यसअघि, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले आवासका कारण कर्णाली प्रदेशको पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताएका थिए ।
प्रतियोगिताको तयारीबारे जानकारी लिन पुगेका मन्त्री चौधरीले नेपालगन्जमा बुधबार पत्रकार सम्मेलनमा भौतिक संरचनासँगै आवासको समेत समस्या देखिएको जानकारी दिएका हुन् । दशौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना अन्तिम चरणमा पुगेको बताउँदै उनले खेल स्थलको टुंगो छिट्टै लाग्ने जनाए । ‘कुन–कुन खेल सुर्खेतमा गर्ने, कुन खेल नेपालगन्ज र कोहलपुरमा गर्ने टुंगो केही दिनमै लाग्नेछ,’ उनले भने । उनका अनुसार ३६ मध्ये २४ खेल मात्र सुर्खेतमा सम्भव छ ।
‘यहाँ खेलाडीको बसाइ व्यवस्थापनमा गाह्रो देखिन्छ,’ उनले भने । गत असारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक सुर्खेतमा ३५ खेलको प्रस्ताव राखेका थिए । महिला फुटबल, उसु, पुरुष र महिला बास्केटबल, जुडो, पुरुष र महिला हक्कीसँगै तेक्वान्दोका इभेन्ट दसौँ राष्ट्रिय खेलकुदको उद्घाटनअघि नै हुनेछन् । राखेपले प्रतियोगिता सञ्चालनका लागि निर्णायक संख्या एक हजार ४९९ प्रस्ताव गरिएको छ ।
निर्धारित समयमै हुने दाबी
सुर्खेतमा भौतिक पूर्वाधार र आवासमा समस्या आउन सक्ने भए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने दाबी मन्त्री चौधरीले गरेका छन् । ‘समस्या धेरै भए पनि प्रतियोगिता निर्धारित समयमै हुनेछ,’ उनले भने । राखेपले १०औँ राष्ट्रिय खेलकुद २ देखि ९ मंसिरसम्म हुने जनाएको छ । उद्घाटनअघिको ६ खेल २७ कात्तिकदेखि सुरु गरिने प्रस्ताव छ । प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
एक महिनामै उप्किएको सेन्थेटिक ट्रयाकको पनि निरीक्षण
मन्त्री चौधरीले नेपालगन्ज रंगशालाको निरीक्षण गरेका छन् । नेपालगन्ज रंगशालामा ओछ्याइएको सेन्थेटिक एथलेटिक्स ट्रयाक उप्किएको समाचार नयाँ पत्रिकाले सार्वजनिक गरेपछि त्यसको अवस्था बुझ्न नेपालगन्ज आएको मन्त्री चौधरीले बताए । नयाँ पत्रिकाले ४ भदौमा ‘एक महिनामै उप्कियो नौ करोड ८६ लाखमा ओछ्याइएको सेन्थेटिक ट्रयाक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । नौ करोड ८६ लाख ४० हजार ८३२ रुपैयाँ लागतमा नेपालगन्ज रंगशालामा ओछ्याइएको सेन्थेटिक ट्रयाक एक महिनामै उप्किएको हो । मन्त्री चौधरीले उप्किएको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिए ।
राखेपले ललितपुरको पञ्चकन्या साइनकोट्स जेभीलाई सेन्थेटिक ट्रयाक निर्माण गर्न २३ मार्च २०२३ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार ५ जनवरी २०२४ मा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर, निर्माण कम्पनीले ६ महिना ढिलो काम सकेको हो । ‘हस्तान्तरण नहुँदै प्राविधिक कमजोरी देखिनु सुखद पक्ष होइन । फेरि समस्या नहुने गरी तत्काल मर्मत गर्न निर्देशन दिन्छु,’ चौधरीले भने, ‘तपाईंहरूले हस्तान्तरण अझै गर्नुभएको छैन, त्यसपछि पनि मर्मत अवधि दुई वर्ष हुन्छ,’ उनले भने, ‘कुनै गुनासो नआउने गरी काम गर्नुस् । गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाउनुहुन्न ।’
वर्षा रोकिएपछि ट्रयाकको मर्मत हुने
मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीका प्रतिनिधिले केही कमजोरी भएको स्वीकार गरेका छन् । बर्सात रोकिएसँगै मर्मत गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले जानकारी दिए । ‘अहिले निरन्तर वर्षा भइरहेको छ । यसले मैदानमा ओछ्याइएको ट्रयाक मर्मत गर्न सम्भव नभएको ठेक्का पाएको कम्पनीले जानकारी दिएको छ,’ चन्दले भने, ‘ट्रयाक ओछ्याउने क्रममा कमजोरी भएको उनीहरूले स्विकारेका छन् ।’
सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि यस विषयमा अध्ययन गर्न राखेपले बोर्डका सदस्यसमेत रहेका पूर्व राष्ट्रिय कप्तान एलबी क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिले बुधबार नै मन्त्री चौधरीलाई प्रतिवेदन बुझाएको संयोजक क्षेत्रीले जानकारी दिए ।