वर्षाले कैलालीमा हुलाकी सडक अवरुद्ध

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

निरन्तरको वर्षाका कारण कैलालीमा हुलाकी सडक अवरुद्ध भएको छ। वर्षापछि बाढीका कारण ठाउँ-ठाउँमा सडक भत्किएको छ।

कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्तरको वर्षाका कारण पानीको सतह सडकभन्दा माथि पुगेको छ।

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन्। स्थानीयवासी आफन्तकहाँ बसेका छन् भने पाँच परिवारलाई स्थानान्तरण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ।

गौरीगंगा नगरपालिकामा पनि केही घर डुबानमा परेका छन्। गौरीगंगा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शंकरपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए।

सुझावित समाचार