साना पुँजीका धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण
साना पुँजीका धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्। ‘स्टार्टअप नेसन–२०३०’ कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए।

आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन उनको जोड थियो। यस्ता उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्त्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट पारे।

‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिंगाे देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्नेछ। सरकारले लगानी गरेका कुनै पनि स्टार्टअप असफल हुनुहुन्न। यसलाई अभियानका रूपमा लैजानुपर्छ। देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ। यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो।’

सुझावित समाचार