काभ्रेको बनेपा नगरपालिका– ४ नालामा आगलागी भएको छ। बुधबार भएकाे आगलागीबाट एक गाई मरेको छ भने करिब पाँच लाखको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ४:१५ बजे आगलागी भएको हो । बनेपा नगरपालिका- ४ नालाका ४६ वर्षीय गोविन्द सापकोटाले गाई पाल्न बनाएको इँटा र माटोको पर्खाल र जस्ताको छानो भएको गोठमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएकाे छ।
आगलागीबाट एउटा गाई जलेर मरेको, उक्त गोठभित्र रहेको भुसा काट्ने मेसिन, सो मेसिनको मोटर, पराल, भुसा र गोठसमेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएकाे छ। आगलागीबाट सापकोटाको करिब पाँच लाखबराबरको क्षति भएको प्रहरीको भनाइ छ।
आगलागीको सूचना पाउना साथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटी, स्थानीय र बनेपा नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो ५ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।