मनसुनी विपत् : पछिल्लो २४ घण्टामा आठजनाले ज्यान गुमाए

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

भारी वर्षाका कारण आएको बाढी, पहिरो डुबानलगायत मनसुनी विपतमा परेर आज सोमबारसम्म १९० जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै आठजनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपतमा आजसम्म १९० जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ।

प्रवक्ता कार्कीका अनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपतमा परी घाइते भएका छन्।

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेकाे प्रहरीले जनाएको छ।

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुबानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ। यस्तै, चार हजार आठ सय १९ परिवार विपतका घटनाबाट विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

सुझावित समाचार