फिल्म ‘कंगारू’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन्। राजीव गुरुङ ‘दीपक मनांगे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरूको लाइनअप बलियो बनेको छ।
यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको बस्नेतले जानकारी दिए। ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अस्ट्रेलियाको सिड्नी, न्युकासल, क्यानबेरालगायतका क्षेत्रमा गरिने बताइएको छ।
‘कंगारू’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतले बताए। ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारूका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौँ। यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने।
यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माता छन्।
फिल्मको सहनिर्मातामा अञ्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन्। फिल्मको लाइन प्रोड्युसरमा सविन ज्ञवली (अस्ट्रेलिया) रहेका छन्। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स युकेले पनि सहकार्य गरेको छ।
फिल्ममा सीमा गुरुङको कथा रहेको छ। फिल्मका छायाकार सुसन प्रजापति हुन् भने प्रोडक्सन डिजाइनर दिलीप पन्त छन्।