तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु. आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ। आर्थिक वर्ष ०८०/८१ मा केन्द्रमा रु. सात करोड ९७ लाख ७६ हजार १०१ बक्यौता रहेको हो। सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु. तीन करोड ९७ लाख ६६ हजार ६६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार गार्हस्थ्यतर्फ रु. एक करोड ६७ लाख ८३ हजार ९५९, गैरव्यापारिकतर्फ रु. ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ रु. एक करोड २४ लाख ४४ हजार २४२, सडक बत्तीतर्फ रु. एक करोड १४ लाख ६७ हजार ३१७, खानेपानीतर्फ रु. ८९ हजार ५९२, चार्जिङ स्टेसनतर्फ रु. ४५ हजार ४९९, सिँचाइतर्फ रु. ३६ हजार ७०४, मन्दिरतर्फ रु. ४१ हजार ५९२ बक्यौता बाँकी छ।

आर्थिक वर्ष ०७९/८० मा रु. आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो। त्यसमध्ये रु. ५७ लाख ८४ हजार २९८ बक्यौता उठेको रेग्मीले बताए। उनका अनुसार जिल्लामा विद्युतका ५१ हजार ७१७ ग्राहक पुगेका छन्।

आर्थिक वर्ष ०७९/८० सम्म ५० हजार ३७२ ग्राहक रहेकामा गत आवमा एक हजार ३४५ ग्राहक थपिएका हुन्। केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार २२५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिँचाइतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन्।

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ ५४६, व्यापारिकतर्फ ३४०, औद्योगिकतर्फ ३७६, सिँचाइतर्फ ३५६, खानेपानीतर्फ १८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ १६९, मन्दिरतर्फ २०३ र अन्यतर्फ १०७ ग्राहक रहेका केन्द्रले जनाएको छ।

केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार २१२ युनिट विद्युत् बिक्री गरेको छ। आव ०७९/८० मा पाँच करोड दश लाख ३२ हजार ४८९ युनिट विद्युत् बिक्री भएको थियो। ग्राहक संख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ।

सुझावित समाचार