नेदरल्यान्ड्स शीर्ष स्थानमा

आठ राष्ट्रबीच चलिरहेको आइसिसी विश्वकप–२ लिगमा १० अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लेको छ । लिग–२ अन्तर्गत २२औँ खेलमा नेदरल्यान्ड्सले क्यानडामाथि ६३ रनको जित निकाल्यो । राटेड्राममा आइतबार पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७.२ ओभरमा २२० रन बनाएको थियो । प्रत्युत्तरमा सन् २०११ को एकदिवसीय विश्वकप खेलेको क्यानडा ३५.४ ओभरमा १५७ रनमा अलआउट भयो । 

जितसँगै नेदरल्यान्ड्सले सातबाट खेलमा सर्वाधिक १० अंक जोडेको छ । नेदरल्यान्ड्सले पाँच जित र दुई हारको सामना गरेको छ । स्कटल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । यस खेलमा जित निकाल्दा क्यानडालाई शीर्ष स्थानमा पुग्ने अवसर थियो । तर, हारसँगै क्यानडा ८ अंकसहित तेस्रो स्थानमा रह्यो । समान ८ अंक जोडेको नामिबिया चौथो स्थानमा छ । 

नेदरल्यान्ड्सको जितमा पाउल भान मिकेरेनले घातक बलिङ गरेका थिए । उनले ९.४ ओभरमा एक मेडन राखी २८ रन खर्चेर पाँच विकेट लिए । यसैगरी सिमर भिभियन किंग्माले सात ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए । यसबाहेक आर्यन दत्त र सरिज अहमेदले समान एक विकेट लिए । 

क्यानडाको ब्याटिङमा विकेटकिपर ब्याट्सम्यान सेयास मोभाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ७२ बलमा चार चौका प्रहार गरेका थिए । क्यानडाले ओपनिङ उत्कृष्ट गरेको थियो । तर, मध्यक्रमबाट गतिलो साथ नपाउँदा लक्ष्यसम्म पुग्न सकेन । ओपनरद्वय आरोन जोन्सन र दिप्रित वाजवाले ८.१ ओभरमा ५९ रन जोडे । आरोनले ३२ तथा दिप्रितले २० रन बनाए । 

यसअघिको ब्याटिङमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले सर्वाधिक ७२ रन बनाएका थिए । उनले ९४ बलमा तीन चौका प्रहार गरे । नाआह क्रासेजले ४४ बलमा ३१ रन जोडे । नेदरल्यान्ड्सको ब्याटिङमा एक छक्का पनि प्रहार भएन । 

सुझावित समाचार