आर्थिक अभावका कारण समयमा उपचार नपाउँदा झाडापखाला रोगबाट ग्रसित दिप्रुङ चुइचुम्मा गाउँपालिका– १ याम्खाका युवराज भुजेलका चार वर्षीय छोरा दीपशन भुजेलको ज्यान गएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित युवराजका तेस्रो सन्तान दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा ज्यान गएको हो ।
झाडापखालाले ग्रसित बालकलाई आफन्तले ढिला गरी उपचारमा ल्याएकाले मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रूपेश संग्राैलाले बताए। ‘अस्पताल ल्याइपुर्याउँदा बालकको ढुकढुकी गइसकेको र आँखाको नानी फुलिसकेको थियो। सिपिआर (छाती थिचेर गरिने उपचार विधि)बाट उपचार गर्दा डेढ मिनेटजति बालकको ढुकढुकी आएको थियो।
फेरि ढुकढुकी गएपछि सिकिस्त अवस्थाका बालकलाई फर्काउन सकिएन,’ उनले भने, ‘अस्पताल भर्ना भएलगत्तै हामीले मुखबाट पाइप हालेर, सिपिआर दिएर बच्चालाई रिभाइव गर्न प्रयास गर्यौँ । अस्पतालका सिनियर डाक्टरहरूसहित सबैजना जुट्दा पनि बालकलाई बचाउन सकिएन । समयमा बालकलाई अस्पताल ल्याइपुर्याएको भए बचाउन सकिन्थ्यो ।’
सिकिस्त बिरामी बालकलाई उपचारका लागि अस्पताल ल्याइपुर्याउँदा लगभग अन्तिम अवस्थामा आएको उपचारमा संलग्न स्वास्थ्यर्कीहरूले बताएका छन् । घरमा हुँदा बालकलाई धेरैपटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको हो ।
मृतक दीपशनको परिवारमा अन्य दुईजनालाई समेत झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए । ‘मृतककी बजु ६४ वर्षीया अमृता भुजेल र दिदी ६ वर्षीया अरुणा भुजेललाई समेत झाडापखालाको समस्या देखिएको छ ।
कमजोर आर्थिक अवस्थाका युवराजको छोरा दीपशनको मृत्यु भएपछि दाहसंस्कारमा समेत समस्या भएको जनाइएको छ । उपचारमा ल्याइएको दीपशनको मृत्यु भएपछि अन्तिम दाहसंस्कारका लागि घर फर्काउन आर्थिक अभाव भएकाले २६ हजार दुई सय चन्दा संकलन गरिएको सिनियर अहेव राईले जानकारी दिए । दीपशनको मृत्युपछि युवराज र उनकी श्रीमती अनु भुजेल भावविह्वल भएका छन् । छिमेकीकोमा बनिबुतो गरेर परिवार धान्दै आएका युवराज र अनुदम्पतीका दुई छोरी र एक छोरा थिए ।
दुई छोरीमध्ये कान्छी अरुणासमेत झाडापखालाकै बिरामी छिन् । उपचार अभावमा छोरा गुमाएका भुजेलदम्पती छोरी र आमासमेत झाडापखालाकै बिरामी हुँदा चिन्तित बनेका स्थानीयले बताए ।