फाइनल थर्डमा चुकेको घरेलु टोली नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा श्रीलंकामाथि जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा सातदोबाटोको एन्फा कम्प्लेक्समा आइतबारदेखि सुरु च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० ले हरायो । नेपालको जितमा नीराजन धामीले निर्णायक गोल गरेका थिए । पहिलो खेलमा ३ अंक जोडे पनि प्रशिक्षक उर्जन श्रेष्ठ खुसी हुन सकेनन् । श्रेष्ठले युवा खेलाडी विपक्षीविरुद्ध फिनिसिङमा चुकेको स्विकारेका छन् । फिनिसिङमा फितलो प्रदर्शन हुँदा नै नेपालको आधा दर्जन गोल प्रयास असफल भएको थियो ।
दशरथ रंगशाला खेलका लागि अयोग्य भएपछि एन्फा कम्प्लेक्समा प्रतियोगिता भएको हो । कृत्रिम मैदानमा नेपालले २४औँ मिनेटमा १–० को अग्रता लियो । नीराजनले श्रीलंकाली बक्सभित्रबाट रक्षक र गोलरक्षकलाई बिट गर्दै आकर्षक गोल गरेका हुन् । उनको गोलसँगै नेपाल प्रतिस्पर्धामा फराकिलो अन्तरले विजयी हुने देखिएको थियो ।
तर, प्रशिक्षक र समर्थकले आशा गरेअनुसार नेपाली युवा खेलाडीले अग्रता गोलपछि आपसी तालमेल मिलाउन सकेनन् । मध्यान्तरपछि नेपालले एक सुन्दर अवसर गुमाएको थियो । नेपालको जितमा नायक बनेका नीराजनले अन्तिम इन्जुरी समयमा डिबक्सबाट प्रहार गरेको बल क्रसबारमा लागेको थियो । जसका कारण नेपालले आफ्नो जितमा गोलअन्तर बढाउन नसकेको हो ।
प्रशिक्षक श्रेष्ठले ३ अंक जोडे पनि चाहेजस्तो गोल नभएको प्रतिक्रिया दिएका छन् । उनी यस खेलबाट निराश छन् । ‘यो खेल सम्भवतः हाई स्कोरिङ हुनुपथ्र्याे । हाम्रा खेलाडी चुके,’ पहिलोपटक यू–२० को जिम्मेवारी सम्हालेका श्रेष्ठले भने, ‘खेल हामीले सोचेजस्तो भयो । सुरुमै गोल हुँदा ३ अंक जोड्न सफल भयौँ । आगामी खेलमा फिनिसिङमै ध्यान दिनुपर्छ ।’
समूह ‘ए’मा पहिलो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । अब दोस्रो खेल नेपालले साबिक उपविजेता बंगलादेशसँग बिहीबार खेल्नेछ । मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्ने तालिका छ । यस खेलमा बंगलादेश विजयी भए नेपाल एक खेलअघि नै अन्तिम चारमा प्रवेश गर्नेछ ।
घरेलु टोलीको गोल प्रयास
नेपालले पहिलो तथा दोस्रो हाफमा श्रीलंकाविरुद्ध बल पोसेसन बलियो बनाएको थियो । प्रशिक्षक श्रेष्ठले आक्रामक शैलीमा खेलाडीलाई मैदानमा उतारेका थिए । नेपालले एकपछि अर्को गोल प्रयास गरिरहँदा श्रीलंकाले पहिलो हाफमै दुई खेलाडी परिवर्तन गरेको थियो ।
घरेलु टोलीको फिनिसिङ कमजोर बनिरहँदा श्रीलंकाली डिफेन्सले खेलाडीलाई गोल अवसर सहज दिएनन् । यद्यपि, नेपालले अग्रता लिने प्रयास गरिरहेको थियो । खेलको दोस्रो मिनेटमै नेपाल चुक्यो । अभिनाश स्याङ्तानको फ्रिकिकमा नीराजनको गोललाई अफसाइड दिइएको थियो । खेलको २१औँ मिनेटमा कुशल देउवाको प्रहार बारमा लागेर फर्कियो । पहिलो हाफमा श्रीलंकाले एक मात्र पोस्ट चार्ज गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा श्रीलंकाली खेलाडी थिल्हमको प्रहारलाई नेपालका गोलरक्षक जियारत शेखले बचाएका थिए । मध्यान्तरपछि नेपालको खेलमा केही सुधार आएको थियो । खेलमा सुधार हुँदाहुँदै पनि फिनिसिङ नै नेपालको कमजोरी बनेको थियो । खेलको ६३औँ मिनेटमा समीर तामाङले डिबक्सबाट प्रहार गरेको बल क्रसबारभन्दा माथि गएको थियो । खेलको ८०औँ मिनेटमा अनिल बम्जनको प्रहार श्रीलंकाका गोलरक्षकले विफल पारे । सिनियर टोलीबाट खेलिसकेका समीरसँगै कप्तान कुशल देउवा, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए । श्रीलंकाले पनि गोलका केही अवसर बनाएको थियो ।
एक गोलमै खुसी श्रीलंका
छैटौँ संस्करण चलिरहँदा नेपाल पहिलो तथा दोस्रो संस्करणको विजेता हो । त्यसयता नेपाल फाइलनमा पुगेको छैन । घरेलु मैदानमा आयोजना भइरहेको यू–२० साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य नै फाइनल पुग्नु हो । नेपाल दुईपटक तेस्रो भएको थियो । भारतले तीनपटक उपाधिमाथि कब्जा जमाएको छ ।
श्रीलंकाका प्रशिक्षक देभसागयम राजमनीले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीले राम्रो प्रदर्शन गरे । नेपाल घरेलु टोली हो । उसले धेरै अवसर बनायो, तर रोक्न सफल भयौँ,’ श्रीलंकाली प्रशिक्षक राजमानीले भने । प्रतियोगितामा दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीको सहभागिता छ । समूह ‘बी’मा सर्वाधिक तीनपटकको च्याम्पियन भारतसँगै माल्दिभ्स र भुटान छन् । प्रतियोगितामा नेपालसहित ६ राष्ट्रले नै उपाधि जित्ने योजना बनाएका छन् ।
स्कोरिङमा ध्यान दिनुपर्छ
उर्जन श्रेष्ठ, प्रशिक्षक, नेपाल
हामीले सुरुमै गोल गर्यौँ । पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोड्न सफल भयौँ । योजनाअनुसार धेरै गोल हुनुपर्ने थियो, त्यसमा चुकेका छौँ । आउने खेलमा फिनिसिङमा ध्यान दिनुपर्छ । श्रीलंकाविरुद्ध गोलका अवसर धेरै बने पनि गोल भएन । खेलाडीले सामान्य गोल हुने अवस्थामा पनि गोल गर्न सकेनन् । बक्सभित्र अवसर बनाए पनि सिम्पल ट्र्यापिङ मिस भयो । खेलाडी अलि आत्तिएजस्तो देखियो । हाई स्कोरिङ म्याच हुनुपथ्र्याे । अब तीन दिनपछि बंगलादेशसँगको खेल छ । त्यसका लागि तयारी गर्नुपर्छ ।
खेलाडीमा अनुभव कम देखियो
देवासगयम, प्रशिक्षक, श्रीलंका
नेपालविरुद्ध नराम्रो खेल भएन । सोचेजस्तै खेल भएको छ । घरेलु मैदानमा नेपाली खेलाडीलाई एडभान्टेज थियो । त्यसको फाइदा उनीहरूले उठाउन सकेनन् । तर, हाम्रो मुख्य लक्ष्य नै उनीहरूलाई गोल गर्नबाट रोक्नु थियो । जसमा डिफेन्सका खेलाडी सफल भए । खेलाडीमा अनुभवको कमी देखियो । यदि उनीहरूसँग धेरै खेलको म्याच एक्सपोजर हुँदा नेपालमाथि दबाब बनाउन सकिन्थ्यो । खेलाडीको प्रदर्शनबाट खुसी छु । आउँदो खेलमा राम्रो हुँदै जानेछ ।