सप्तरीको रूपनगर क्याम्पसमा सार्वजनिक पुस्तकालय स्थापना

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

सप्तरी जिल्लाको रूपनगरमा 'रूपनगर सर्वोदय पुस्तकालय' नामक सार्वजनिक पुस्तकालय आइतबारबाट सञ्चालनमा आएको छ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसपरिसरमा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको हो। उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले एक समारोहका बिच पुस्तकालय उद्घाटन गरे।

क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलका अनुसार करिब पाँच हजार भौतिक पुस्तक र उल्लेख्य संख्यामा 'अफ लाइन' इ-पुस्तक राखेर रूपनगर सर्वोदय पुस्तकालय आरम्भ गरिएको छ। आधा दर्जन विश्वस्तरीय 'अनलाइन' पुस्तकालयमा समेत पहुँच कायम गरिएको गजुरेलले जानकारी दिए।

पुस्तकालयको उद्घाटन गर्दै न्यायाधीश अधिकारीले पठन संस्कृति हराउँदै गएको हाम्रो समाजमा पढ्ने र अनुसन्धान गर्ने बानी बसाल्न यो पुस्तकालयले मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अमेरिकाको टेक्सास बस्नु हुने इन्जिनियर विजयराज भट्टराईको आर्थिक संयोजन तथा सहयोगमा रूपनगर सर्वोदय पुस्तकालय स्थापना गरिएको जानकारी प्राध्यापक गजुरेलले दिए।

भट्टराईले नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्सासमा नेपालीहरूद्वारा सञ्चालित 'ग्लोबल नेपाली पाठशाला' मा करिब ६ वर्ष प्रिन्सिपलका रूपमा नेतृत्व गरेका छन्। भट्टराईले टेक्सासका समाजसेवीहरूको सहयोगमा 'सर्वोदय फाउन्डेसन नेपाल' स्थापना गरी मानव सेवा गर्दै आएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस पढाइ हुने सप्तरी जिल्लाको रूपनगरस्थित रूपनगर नन्दराज संग्रौला क्याम्पसमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि इन्जिनियर विजयले झन्डै १३ लाख रुपैयाँ सहयोग गरेको जानकारी क्याम्पसले दिएको छ। भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग गर्ने वचन दिएका छन्।

'पुस्तकालय उद्घाटन समारोहलाई अमेरिकाबाट सन्देश पठाउँदै भट्टराईले अध्ययन संस्कृतिमा मद्दत पुग्ने र यो प्रयास अरूका निमित्त प्रेरणा पनि बन्न सकोस्' भन्ने चाहना व्यक्त गरे।

सप्तरी जिल्लामा एउटै पनि सार्वजनिक पुस्तकालय सञ्चालनमा नरहेको अहिलेको अवस्थामा रूपनगर सर्वोदय पुस्तकालय विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गहकिलो स्रोत केन्द्र बन्ने अपेक्षा गरिएको छ। 'पत्रपत्रिका, कम्प्युटर, र इन्टरनेटसमेतको सुविधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र नभएर सप्तरीको यो भेगकै लागि गौरव हुनेछ,’ क्याम्पस सञ्चालक समिति अध्यक्ष गिरिराज संग्रौलाले भने।

बिहान क्याम्पसका विद्यार्थी र शिक्षकले प्रयोग गर्ने यो पुस्तकालय अपराह्न तीन घण्टा सार्वजनिक उपयोगका लागि खुला रहनेछ। प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्थासमेत हुने क्याम्पस प्रमुख गजुरेलले जानकारी दिए। तर, सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउनेछन्।

आठ हजारभन्दा बढी पुस्तक क्षमताको उक्त पुस्तकालयमा सबै उमेर, वर्ग, विषय, तह र पेसाका पुस्तकहरू राखिएका छन्। दैनिक तथा मासिक पत्रपत्रिका, इन्टरनेट र कम्प्युटरको सुविधा पनि उपलब्ध छ। 
कञ्चनपुर नगरपालिकाका नगरप्रमुख ललन गुप्ताले नगरपालिकाले यस वर्ष एउटा सार्वजनिक पुस्तकालयका लागि बजेट छुट्याएको जानकारी दिए। रूपनगर क्याम्पस र यो पुस्तकालयलाई समेत सहयोग गर्ने उनको प्रतिबद्धता छ।

पुस्तकालय उद्घाटनका अवसरमा एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इ. प्रदीप पौड्याल, कञ्चनरूप नगरपालिकाका पूर्वनगरप्रमुख वसन्त मिश्र, तिलगंगा आँखा केन्द्र रूपनगरका डा. असिम छुस्याबागलगायतले शुभकामना दिए।

सोही अवसरमा पाँचजना विद्यार्थीहरूलाई 'क्याम्पस छात्रवृत्ति' हस्तान्तरण गरिएको थियो।

सुझावित समाचार