महोत्तरीको जलेश्वर नगरपालिका– ५ बस्ने गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका– ५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनीलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।
केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर रु. ९२ हजार माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिएका थिए।
सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर– १ स्थित महादेव मन्दिरपरिसरबाट पक्राउ गरेको हो। पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।