भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायलाई तीन प्रश्न

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्रीको पहिलो भारत भ्रमणको के कस्तो महत्व देख्नुहुन्छ ?
परराष्ट्रमन्त्रीको भारत भ्रमणको औपचारिक एजेन्डा नआएको हुनाले यो एउटा सामान्य ‘गुडविल’ भ्रमण मात्र हुन सक्छ । हुन त कूटनीतिमा हरेक भ्रमण या भेटघाटका अलग अलग महत्व या अवसर हुन्छन् । यस्ता भेटघाटमा द्विपक्षीय मुद्दाहरू उठाउन सकिन्छ । तर, यसका लागि तयारी भने पर्याप्त गरिएको हुनुपर्छ । 

अहिले नेपाल–भारत सम्बन्धको अवस्था कस्तो छ ?
कूटनीतिमा नराम्रो भन्ने हुँदैन । त्यसैले, नेपाल–भारतबीचको सम्बन्ध पनि राम्रो छ । तर, राम्रो हुँदाहुँदै पनि जति राम्रो परिणाम देखिनुपर्ने थियो, त्यति देखिएको भने छैन । हाम्रो शासन सत्तामा पुग्नेहरूमा भारत रिसाउँछ कि भन्ने भयले काम गरेको देखिन्छ । तर, भारत रिसाउँछ भनेर ऊर्जा, पानी, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा ऊसँग संवाद नै नगरी बसेर हाम्रो कूटनीति चल्दैन । व्यापार घाटा, हवाई रुट, सन् १९५० को सन्धिजस्ता विषयमा हामीले छलफलबाटै समाधान निकाल्नुपर्छ । कालापानी र सुस्ता क्षेत्रमा विवाद छ भनेर भारतले नै स्विकारेको छ । त्यसैले, अहिले देशमा बलियो सरकार भएको समयमा राम्रो तयारीसाथ गएर यस्ता विषयमा आफ्ना धारणा राख्ने हो भने समाधान निस्कन सक्छ । जहिल्यै हीनताबोध राखेर हुँदैन । 

परराष्ट्रमन्त्रीले भाजपा विदेश विभाग प्रमुखलाई बाँध्ने ‘राखी’ को कूटनीतिक महत्व कति छ ?
कूटनीतिमा व्यक्तिगत सम्बन्धले ठुलो अर्थ राख्छ । यस्ता सम्बन्धले द्विपक्षीय समस्याका गाँठा फुकाउन सहज हुन्छ । तर, सम्बन्धित व्यक्तिमा त्यस्तो सम्बन्धको उपयोग गर्ने कला र कूटनीतिक चातुर्य भने हुनैपर्छ । यस्तो सम्बन्धले कूटनीतिमा फाइदा नै गर्छ । 

सुझावित समाचार