गुरुकुलको अध्ययन पूरा भएपछि गुरुहरूले शिष्यको परीक्षा विभिन्न तरिकाबाट लिने गर्थे । त्यस्तै एउटा गुरुकुलका एक आचार्यले पनि आफ्ना शिष्यको परीक्षा लिने उद्देश्यले उनीहरूलाई बोलाए । आचार्यले भने, ‘अब तिमीहरू सबैको शिक्षा पूरा भयो । तिमीहरू आआफ्नो जन्मभूमि फर्केर यहाँ सिकेको शिक्षाको उपयोग गरी जीवनलाई सार्थक बनाउन सक्छौ । तर, जानुभन्दा अगाडि सबैले मेरो एउटा काम गरिदिन्थ्यौ कि भनेर आज मैले तिमीहरूलाई यहाँ बोलाएको हुँ ।’ आचार्यले सबै शिष्यलाई एउटा–एउटा बाँसको टोकरी दिँदै भने, ‘अब तिमीहरू सबैले यसमा नदीबाट पानी भरेर ल्याओ र विद्यालय भवनको सरसफाइ गर ।’
आचार्यको आदेश सुनेर सबै शिष्य अलमल्लमा परे । बाँसको टोकरीमा पानी ल्याउन कसरी सम्भव छ ? उनीहरूले केही सोच्नै सकेनन् । तर, उनीहरूले आचार्यसित प्रश्न नगरी खुरुक्क टोकरी उठाएर नदीतर्फ गए । सबैले टोकरीमा पानी उबाउने सक्दो प्रयास गरे । तर, टोकरीका मसिना प्वालबाट एकैछिनमा सबै पानी चुहिन्थ्यो । अन्त्यमा, हारथाक भएर शिष्य आश्रम फर्किए । हतास शिष्यहरूले फर्केर आचार्यसामु आफूहरू असफल भएको बताउँदै क्षमा मागे ।
तर, तीमध्ये एक छात्र आफ्नो कर्तव्यप्रति गम्भीर थिए । उनका मनमा आफ्ना गुरुप्रति पूर्ण निष्ठा र भक्तिभाव थियो । उनी दिनभर यही सोचेर बारम्बार जल भर्ने गरिरहे, ‘गुरुदेवले जब यस्तो आज्ञा दिनुभएको छ भने यसको कुनै न कुनै अर्थ त अवश्यै होला ।’ यही सोचेर बिहानदेखि बेलुकासम्म उनले लगातार पानी भरिरहे । पानीमा पर्दापर्दा चिसोले बाँसका चोया फुल्दै गएर टोकरीका छिद्र बन्द भएर पानी अडिने भएपछि । उनी त्यही टोकरीमा पानी लिएर आश्रम फर्किए ।
शिष्यले बाँसको टोकरीमा पानी ल्याएको देखेपछि गुरुले बाँकी शिष्यलाई जम्मा पारेर भने, ‘मैले तिमीहरूलाई अकल्पनीय र कठिन काम सुम्पेको थिएँ । तर, विवेक, धैर्य, लगन र निरन्तर प्रयासले कठिन कार्य पनि सम्भव हुन्छ । यसलाई तिमीहरूका साथीले प्रमाणित गरिदिए । त्यसैले जीवनमा निरन्तरको परिश्रमबाट कहिल्यै विमुख नहुनू । जीवनमा अवश्यै सफलता पाउनेछौ ।’