वाणिज्य बैंकहरूले भदौका लागि ब्याजदर थप सस्तो बनाएका छन् । कर्जा प्रवाह सुस्त बनेको र निक्षेप बढ्दै गएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८१/८२ मा कर्जाको माग बढ्ने अपेक्षा गरेर मौद्रिक नीति ल्याए पनि त्यसको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको छैन । निक्षेपको ब्याजदर सस्तो भएकाले बैंकमा पैसा राखेका सर्वसाधारण सेयर बजारमा लगानी गर्न थालेका छन् ।
बैंकहरूले भदौका लागि औसत ब्याजदर ६.४६ प्रतिशत निर्धारण गरेका छन् । साउनमा भने ६.६७ प्रतिशत औसत ब्याजदर थियो । १८ बैंकले ब्याजदर घटाउँदा हिमालयन र प्राइम बैंकको ब्याजदर सामान्य दरले बढेको छ । हिमालयन बैंकले ६.२५ प्रतिशत र प्राइमले ६.५ प्रतिशतबाट बढाएर समान ७ प्रतिशत कायम गरेको छ ।
अहिले सबैभन्दा धेरै ब्याजदर एनएमबि र एनआइसी एसिया बैंकले दिने भएका छन् । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.४१ प्रतिशतसम्म ब्याजदर दिने भएका हुन् । साउनमा पनि कर्जाको वृद्धिदर सामान्य रहेपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाएका हुन् ।
बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् । बैंकहरूले अहिले कर्जा लगानी नभएका कारण राष्ट्र बैंकमा राख्ने रकममा समेत ३ प्रतिशतदेखि ५.४१ प्रतिशतसम्म ब्याजदर छ ।
राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने ६४ खर्ब १४ अर्ब रुपैयाँ छ । कुल निक्षेप र कर्जा प्रवाहमा वाणिज्य बैंकहरूको हिस्सा ५६ खर्ब ८९ अर्ब र ५६ खर्ब ८७ अर्ब रुपैयाँ छ । बैंकहरूको कर्जा निक्षेप अनुपात भने ७९.०२ प्रतिशत छ ।
