बागमतीका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले विपत् व्यवस्थापन तथा न्यूनीकरणका लागि सुरक्षा निकायहरूलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ। 
शुक्रबार एक कार्यक्रमबीच प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीनै तहका सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण गरेको हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नेपाली सेनालाई ५७ प्रकृतिका २५२ वटा सामान, सशस्त्र प्रहरी बललाई ६२ प्रकृतिका १५२ वटा सामान र नेपाल प्रहरीलाई ५६ प्रकृतिका १६२ वटा सामान हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ।

उक्त अवसरमा सेनाका तर्फबाट सहायक रथी सुवासजंग थापा, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक गणेश ठाडामगरलाई र नेपाल प्रहरीका प्रहरी उपरीक्षक राकेश सिंहले ती सामग्री बुझेको मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।

प्रदेश सरकारका तर्फबाट तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सुरक्षा निकायसँगको निरन्तर छलफल र समन्वय गरी विपत् खोज तथा उद्धारका लागि ती सामग्री पहिचान गरेको सचिव दर्जीले बताए। 

सचिव दर्जीका अनुसार ४१ प्रकृतिका २५२ वटा सामान प्रदेश गोदामघरमा सुरक्षित राखिएको छ। ती सामग्री आवश्यकताअनुसार सुरक्षा निकाय र विपतग्रस्त क्षेत्रमा पठाइने उनको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले विपत् व्यवस्थापनमा सम्बन्धित सबै निकायले प्रभावकारी ढंगबाट काम गर्न निर्देशन दिएका छन्। उनले नागरिकहरूको जीवनरक्षा सरकारको जिम्मेवारी रहेकाले त्यसतर्फ गम्भीर भएर काम गर्न उनले आग्रह गरे। 

सुझावित समाचार