नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका एक सय ४५ पदक विजेता खेलाडीले घोषित पुरस्कार अझै पाएका छैनन्
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको घोषित नगद पुरस्कार उपलब्ध गराउन बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार ध्यानाकर्षण गराएको छ ।
२८ कात्तिकदेखि ३ असोज ०७९ सम्म पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा बागमतीका एक सय ४५ खेलाडीले पदक जितेका थिए ।
बागमती प्रदेश सरकारले स्वर्ण, रजत र कास्य विजेतालाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको थियो । प्रतियोगितामा बागमतीबाट २४ ले स्वर्ण, ४७ जनाले रजत तथा ७४ जना खेलाडीले कास्य जितेका थिए । पहिलो स्थानले एक लाख, दोस्रोले ७५ हजार र तेस्रो स्थानमा रहेका खेलाडीलाई ५० हजार रुपैयाँ दिने भनिएको थियो ।
प्रदेश सरकार स्वयंले घोषणा गरेको नगद पुरस्कार अहिलेसम्म नपाएको गुनासो संघका केन्द्रीय सदस्य अजित गुरुङले गरेका छन् । तत्कालीन प्रदेश सरकारका खेलकुदमन्त्री रत्न ढकालले पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । प्रतियोगिता सकिएको दुई वर्ष बित्न लाग्दा पनि पुरस्कार नपाउँदा खेलाडी निराश बनेको गुरुङले जनाए ।
मन्त्री महर्जनले प्रदेश सरकारले घोषणा गरेअनुसारको नगद पुरस्कार दिलाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री महर्जनले आफू पनि खेल क्षेत्रबाटै आएकाले खेलाडीलाई निराश बनाउने विश्वास दिलाएका छन् । ‘म पनि खेल क्षेत्रबाट आएको व्यक्ति हुँ । खेलाडीको मर्म म राम्रोसँग बुझछु,’ उनले भने, ‘यस विषयमा प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीसँग समेत छलफल गरिसकेको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
मन्त्री महर्जनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै खेलाडीलाई घोषणा गरेको नगद पुरस्कार प्रदान गर्ने जानकारी दिएका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीलाई निराश नबनाउन र १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअगाडि नै पुरस्कार वितरण गर्न आग्रह गरेका छन् ।