भुटान नेशनल डेमोक्रेटिक पार्टीका कार्यवाहक सभापति डा. डिएनएस ढकालले व्यक्तिगत मतभिन्नता त्यागेर नेपालमा शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि सामूहिक र रचनात्मक शोचमा अघि बढ्न आह्वान गरेका छन्।
ढकालले नेपालमा रहेका, तेश्रो देशमा पुनर्स्थापित भुटानी समुदायका अगुवा, बुद्धिजीवी र उद्यमीसहित सबैलाई सामूहिक एजेन्डामा सँगै अघि बढ्न आह्वान गरेका छन् ।
तेश्रो देश पुनर्स्थापनापछि पनि पूर्वी नेपालका दुई शरणार्थी शिविरमा ६ हजारभन्दा बढी भूटानी शरणार्थी छन् । उनीहरुमध्ये एक हजार जनाले परिवार पुनर्मिलनका लागि विदेश जान ट्राभल डकुमेन्टका लागि फारम भरिसकेपनि प्राप्त गरेका छैनन् ।
उनीहरुलाई दाताले छाडेपछि र परिवार टाढा भएका कारण दैनिकी चलाउन नै धौधौ पुगेको उनीहरुले बताउँदै आएका छन् । कार्यवाहक सभापति ढकालले शरणार्थी समस्याबारे नेपाल र भूटानले निर्णायक वार्ता गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘नेपाल र विश्वमा हाम्रो मुद्दामा चासो जगाउने प्रक्रियालाई फेरि एकपटक सुरु गरौँ’ ढकालले भनेका छन् ।
हालै अमेरिकाबाट फर्केका ढकालले सभामुख देवराज घिमिरे, मानवअधिकारकर्मी सुशील प्याकुरेललागतसँग भेटवार्ता गरेका छन् । ‘नेपालका शिविरमा रहेका शरणार्थीहरूको भविष्य, पुनर्वास, भुटानी समुदायको सांस्कृतिक सम्पर्क र भुटानमा मानवअधिकार र लोकतान्त्रिक मुद्दाहरूको भविष्यका बारेमा छलफल गरिरहेको छु । अब हाम्रो मुद्दामा नेपालका विभिन्न सरोकारवालाहरु र भुटानी डायस्पोरा फैलिएकाहरुसँग परामर्श गरेर अघि बढ्नुपर्ने उपयुक्त समय यही हो’ ढकालले भने ।
ढकालले शिविरमा बाँकी रहेका शरणाथीृहरुको मुद्दा नेपाल, भुटानी डायस्पोरा र अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय भएको र यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई संलग्न गराउन डायस्पोराले नेपालसँग मिलेर काम गर्नुपर्ने पनि बताए ।
भुटानलाई प्रमुख सरोकारवाला मध्ये एकको रुपमा राख्नुपर्नेमा पनि उनको जोड छ ।
उनले पुनर्वासित भुटानी समुदायको सांस्कृतिक सम्पर्कको मुद्दा पनि अघि बढाउनुपर्नेमा जोड दिए । विभिन्न ठाउँमा रहेका परिवारको पुनर्मिलनको मुद्दामा पनि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिएर नेपाल र भूटानले समाधान गर्नुपर्ने उनको भनाई छ ।
ढकालले न्याय, मानव अधिकार र लोकतन्त्रको मुद्दामा भूटानभित्र रहेका जनतासँग काम गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘यसका लागि धेरै समय लाग्न सक्छ। हामी मध्ये जसले यसलाई पछ्याउन उपयुक्त ठान्नुहुन्छ, यस समस्याको विरासतलाई पुस्तादेखि पुस्तासम्म लिने संस्था निर्माण गर्ने काम गर्नुपर्ने आवश्यक छ’ कार्यवाहक सभापति ढकालले भने, ‘जतिसुकै लामो समय लाग्न सक्छ। समयको आवश्यकता भनेको भूमिका पहिचान गर्नु हो जहाँ हामी फिट हुन सक्छौं । भुटानी डायस्पोराले उल्लेखित सबै मुद्दाहरूमा अर्थपूर्ण भूमिका खेल्न सक्छ र खेल्नुपर्छ ।’