व्याँसमा तुइन काटिँदा आवतजावत ठप्प

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

दार्चुलाकाे व्याँस गाउँपालिका– २ दुम्लिङका स्थानीयको दैनिक आवतजावत महाकाली नदीमा तुइनमार्फत हुने गर्छ। तर, त्यो तुइन पनि भारतीय सुरक्षाकर्मीले बुधबारदेखि काटिदिएपछि यहाँका स्थानीयको आवतजावत ठप्प बनेको छ।

कुटानी–पिसानीदेखि खाद्यान्न ढुवानी भारतबाटै हुने गर्छ। सदरमुकाम खलंगासम्म आउजाउ त्यही तुइनबाट स्थानीयले गर्दै आएका थिए। तर, भारतीय स्वतन्त्रता दिवसमा समस्या हुने भन्दै एसएसबीले तुइन काटिदिएको हो। स्थानीयले नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि फलामे तारको सहारा बनाएका थिए।

अहिले नेपाल–भारत जोड्ने झोलुंगे पुल गाउँभन्दा दुई घण्टाको दूरीमा छ। पुलका लागि पटकपटक पहल गर्दा पनि सुनुवाइ हुन नसकेको व्याँस गाउँपालिका– २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए। दुम्लिङमा झोलुंगे पुल नहुँदा यस क्षेत्रमा बर्सेनि स्थानीयको ज्यान जाने गरेको छ।

महाकाली नदी वारपार गर्न दार्चुलाको लेकमदेखि व्याँसको सीतापुलसम्म दर्जन झोलुंगे पुल निर्माण गरिएका छन्। केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन तथा ट्युब विस्थापन अभियानअन्तर्गत आधा दर्जनभन्दा बढी झोलुंगे पुल बने। तर, व्याँस गाउँपालिका– २ दुम्लिङमा भने अहिलेसम्म झोलुंगे पुल नहुँदा स्थानीय अझै पनि तुइनकै सहारामा आवतजावत गर्न बाध्य छन्।

साउन १४ गते दार्चुलावासीको तर्फबाट प्रधानमन्त्री केपी  ओलीलाई दुम्लिङमा झोलुंगे पुल निर्माणका लागि आवश्यक पहल गरिदिन निवेदन दिइएको छ। जिल्लावासीको तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले ज्ञापन बुझाएको थियो।

तुइन तथा ट्युब विस्थापन कार्यक्रमअन्तर्गत नेपाल–भारत जोड्न लाली, बाँकु, बडुगाउँ, तिग्रम, मलघट्टे र मालमा झोलुंगे पुल निर्माण गरिएको छ। यस्तै, जोलजीवी, दत्तु, खलंगा र व्याँसमा झोलुंगे पुल सञ्चालनमा छ। महाकाली नगरपालिका–८ स्थित काकडामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

See More On

सुझावित समाचार