वातावरण संरक्षणका लागि नाै युवा ‘ग्रिनसिफ्ट एम्बेस्डर’ छानिए

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

युरोपियन युनियन (इयू)को सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका नाै युवालाई ‘ग्रिनसिफ्ट एम्बेस्डर’का लागि छनाेट गरेको छ। ग्रिनसिफ्ट परियोजनाअन्तर्गत वातावरण संरक्षणप्रति युवाहरूमा सचेतना जगाउन ‘ग्रिनसिफ्ट एम्बेस्डर’ छनाेट गरिएको हो।

बागमती प्रदेशबाट ओम न्यौपाने, आकृति सुवेदी र कृशल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट अनुशा क्षेत्री, प्रजिना आचार् र योगेश डुम्रे तथा मधेश प्रदेशबाट सुलभ चौरसिया, सोनाली साह र कैयुम राइन छनाेट भएका छन्। करिब सयभन्दा बढी युवायुवतीले निवेदन दिएकामा नाैजना चयन गरिएको परियोजना प्रमुख युनिस घिमिरेले जानकारी दिए। 

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रिनसिफ्ट परियोजनाको भिजनअनुसार दिगो भविष्य निर्माणका लागि योगदान पुर्याउन युवाहरूको महत्त्वपूर्ण भूमिकाबारे तीन प्रदेशका युवालाई सहभागी गराएर सशक्तीकरण र शिक्षित गर्न ‘ग्रिनसिफ्ट एम्बेस्डर’हरूले स्थानीयस्तरमा क्रियाकलाप सञ्चालन गर्ने बताए।

छनाेट भएका ‘ग्रिनसिफ्ट एम्बेस्डर’ युवाहरूले आ–आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षरोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन्। ‘ग्रिनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरूलगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन्।

इयूको सहयोगमा ग्रिनसिफ्ट परियोजनाले चार वर्ष समयावधिका लागि बागमती, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सञ्चालन गरिरहेको छ। क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र युथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रूपमा रहेका छन्।

सुझावित समाचार