स्वास्थ्य मन्त्रालयले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार सम्हालेसँगै स्वीकृत गरेको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० आधारित रहेर मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको हो।
रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्यअनुसार एक महिनाभित्रै मन्त्री पौडेलले बुधबार कार्यविधि स्वीकृत गरेका हुन्। अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार भएसँगै भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको नारायणी अस्पताल वीरगन्जमा सेवा विस्तार गरिनेछ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिइनेछ। यस्तै, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा प्राप्त गर्न सकिने बताइएको छ।
क्यान्सर उपचार सेवा विस्तार भएसँगै आमनागरिकले सहज सेवा प्राप्त गर्न सक्ने मन्त्री पौडेलले बताएका छन्। उनले भने, ‘आमनागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न क्यान्सर उपचार सेवा विस्तार गरेका हौँ। बिस्तारै सातवटै प्रदेशमा सेवा विस्तार गरिनेछ।’
हाल संघअन्तर्गत देशभर क्यान्सर उपचारका लागि ३ वटा मात्रै सरकारी अस्पतालहरू रहेकाले अन्य अस्पतालहरूमा समेत सहायक सेवा सुरु गर्न विस्तारित रणनीति लागू गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार तत्काल यी अस्पतालहरूमा किमो र शल्यक्रियालगायतका सेवा सञ्चालन गर्न नसकिए पनि बिस्तारै सेवा बढाउँदै लाने योजनाअनुरूप उपचार सेवा रणनीति लागू गरिएको हो।