चोभार बन्दरगाहमा चहलपहल

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

सञ्चालनमा आएको दुई वर्षपछि मात्रै भरिन थाल्यो भन्सार यार्ड अहिले १२ सय सवारीसाधन बन्दरगाहको पार्किङमा

काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह यतिवेला नयाँ सवारीसाधनले भरिभराउ छ । बन्दरगाहको यार्डमा मोटरसाइकलसहित १२ सयभन्दा धेरै सवारीसाधन रहेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

अहिले बन्दरगाहपरिसरमा ६ सय ७९ गाडी र पाँच सय २५ मोटरसाइकल तथा स्कुटर छन् । जसमध्ये पाँच सय ३६ गाडी र मोटरसाइकल भन्सार जाँचपास गरेर चोभारमा ल्याइएको हो । चोभारबाटै भन्सार जाँचपास गर्ने गरी ल्याइएका गाडीको संख्या एक सय ४३ रहेको छ । यार्डमा रहेका गाडीमध्ये करिब ९० प्रतिशत विद्युतीय कार रहेको गुजरेलले जानकारी दिए । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ ।  

सरकारले डेढ अर्ब रुपैयाँ लगानीमा चोभारको हिमाल सिमेन्ट उद्योग भएको ठाउँमा सुक्खा बन्दरगाह निर्माण गरेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ०७८ मा उद्घाटन गरेको सुक्खा बन्दरगाह अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । तर, यतिवेला बन्दरगाहको आन्तरिक टर्मिनल क्षेत्र भने बिक्रीका लागि ल्याइएका नयाँ सवारीसाधनले भरिभराउन बनेको छ । यो बन्दरगाह सुरु भएसँगै व्यवसायीले काठमाडौंबाटै भन्सार जाँचपास गराउने बाटो खुलेको हो ।

पछिल्लो समय बन्दरगाहले कमाइ गर्न थालेको कार्यकारी निर्देशक गजुरेलले बताए । सञ्चालनमा आएको दुई वर्षपछि बल्ल सुक्खा बन्दरगाहमा व्यावसायिक चहलपहल बढ्न थालेको व्यवसायीहरू पनि बताउँछन् ।

प्रतिदिन गाडीको सय र दुईपांग्रेको ५० रुपैयाँ भाडा
अहिले आन्तरिक टर्मिनलमा गाडी राखेको प्रतिदिन सय रुपैयाँ र मोटरसाइकल तथा स्कुटर पार्किङ गरेर राखेको ५० रुपैयाँ तिर्नुपर्ने कार्यकारी निर्देशक गजुरेलले बताए । जसले बन्दरगाह व्यस्त हुनुका साथै आम्दानी पनि बढेको छ । उनले भने, ‘पछिल्लो समय गाडीको आयात पनि बढ्दै गएसँगै बन्दरगाह पनि व्यस्त हुन थालेको छ ।’ सुरुवाती समयमा सुक्खा बन्दरगाहमा आइसी इन्जिनवाला गाडी धेरै आउँथे । तर, पछिल्लो समय इभी बढी आउन थालेका छन् । त्यसो त सामान बोकेका कन्टेनर पनि आउन थालेको उनको भनाइ छ ।

‘ढिलो भए पनि चोभार सुक्खा बन्दरगाह अब चल्न थाल्यो, क्षमताका हिसाबले आन्तरिक टर्मिनल शतप्रतिशत अकुपाई भइरहेको छ, भन्सार क्षेत्र भने २५ प्रतिशत मात्र चलेको छ,’ गजुरेलले भने, ‘चोभारमा ल्याएर गाडी र अन्य सामान भन्सार क्लियरेन्स गर्नेहरू कम छन्, काठमाडौं–निजगढ फास्ट ट्र्याक सञ्चालनमा आएपछि व्यवसायीले चोभारबाट भन्सार क्लियरेन्स गर्न थाल्ने अनुमान छ ।’ नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याक ०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भन्सार जाँचपास भएर पार्किङमा छन् ६ सय गाडी  
चोभार सुक्खा बन्दरगाहमा भन्सार क्षेत्र र आन्तरिक टर्मिनल गरी दुई भागमा छुट्याइएको छ । भन्सार क्षेत्रमा जाँचपास हुन बाँकी गाडी र सामान राखिन्छ । आन्तरिक टर्मिनलमा भन्सार क्लियर भएर आएका सवारीसाधन रहेका छन् । अहिले चोभारमा वीरगन्ज, भैरहवा, रसुवागढीलगायत विभिन्न नाकाबाट भन्सार जाँचपास गरी ल्याएर पार्किङमा राखिएका सवारीसाधन धेरै छन् । 

पार्किङमा कुन ब्रान्डका कति गाडी ?
चोभार बन्दरगाहमा चिनियाँ ब्रान्डका इभी गाडी धेरै छन् । एक दर्जनभन्दा बढी ब्रान्डका गाडी र मोटरसाइकल पार्किङमा रहेको देखिन्छ । पार्किङमा राखिएका दुईपांग्रे सवारीसाधन हिरो ब्रान्डका हुन् । हिरोको नेपाली विक्रेता चौधरी ग्रुपले मोटरसाइकल र स्कुटर बन्दरगाहमा पार्किङ गरेर राख्न थालेको हो ।

चोभारमा भन्सार जाँचपास गरेर ल्याइएका चारपांग्रे सवारीसाधनमध्ये सबैभन्दा धेरै एमजी ब्रान्डका कार छन् । चोभारको आन्तरिक टर्मिनलमा एमजीका एक सय ५३, बिवाइडीका एक सय १९, जिएसीका ९७, किङ्सलङका ३५, निटा ३४, केवाइसी २२, ओमोडा एक, निसान आठ, सेरेस २९, सोकोन १७, फोटोन १५, जेएसी ६ वटा गाडी रहेका छन् । भन्सार जाँचपास गर्न बाँकी विभिन्न ब्रान्डका एक सय ४३ गाडी छन् ।

कतिपयले चोभारबाटै भन्सार जाँचपास गर्ने गरी सवारीसाधन इन्ट्री प्वाइन्टमा रेकर्ड राखेर ल्याउँछन् । विक्रेताले गाडी खरिद गर्ने ग्राहक भेटिएपछि चोभारबाट भन्सार क्लियरेन्स गरेर लैजाने गरेका छन् । जसले तत्कालै मोटो रकम भन्सार तिरेर गाडी जाँचपास गरी गोदाममा लगेर थन्क्याउनुपर्ने बाध्यता कम भएको व्यवसायी बताउँछन् । त्यसो त काठमाडौंमा गाडी पार्किङ गरेर राख्नुपर्ने ठाउँसमेत कम छ । गाडी पार्किङ गर्न जग्गा भाडामा लिन पनि महँगो पर्छ । भन्सार जाँचपास भइसकेका गाडी पनि राख्न पाइने भएपछि आयातकर्ताको रोजाइमा चोभार बन्दरगाह पर्न थालेको छ ।

नयाँ सवारीसाधनले बन्दरगाह भरिएको छ : आशिष गजुरेल, सिइओ, इन्टरमोडल यातायात विकास समिति
यतिवेला चोभार सुक्खा बन्दरगाह गाडी र मोटरसाइकलले भरिभराउ छ । अहिले साढे सात सय गाडी र पाँच सयजति मोटरसाइकल पार्किङमा होलान् । आन्तरिक टर्मिनल क्षेत्र भन्सार जाँचपास भइसकेका सवारीसाधन र गोदाम पार्टपुर्जाले भरिभराउ छन् । अहिले भन्सार क्षेत्र भने २५ प्रतिशत मात्र चलेको छ । काठमाडौं–निजगढ द्रुतमार्ग सञ्चालनमा आएपछि बल्ल चोभारमै भन्सार जाँचपास गर्ने गरी सवारीसाधन र मालवस्तु ल्याउने क्रम बढ्ने अपेक्षा छ ।

सुझावित समाचार