विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

विषादी प्रयोग गरेर मारेको माछा खाँदा घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

बारामा माछा खाँदा एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका– ७ का झवानी टोलका नरेश रामका दुई छोरी नौ वर्षीया लालिमा र सात वर्षीया पुष्पा तथा छोरा पाँच वर्षीय कृष्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईका अनुसार शनिबार साँझ आमाले पकाएको माछा र भात खाएर सुतेका बालबालिका अचानक बिरामी परेका थिए । राम परिवारले माछा भारतबाट आएका व्यापारीसँग किनेको थियो । खाना खाएको केही समयपछि बान्ता र पखालाको समस्या देखिन थालेपछि परिवारका सदस्यले शनिबार साँझ साढे ७ बजे स्थानीय सञ्जीवनी स्वास्थ्य क्लिनिकमा लगेका थिए । क्लिनिकका स्वास्थ्यकर्मी रामबाबु कुशवाहका अनुसार त्यतिखेर लालिमाको स्वास्थ्य अवस्था गम्भीर थियो । त्यसपछि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । 

लालिमाको आइतबार बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । थप दुईजनालाई उपचारका लागि आइतबार राति वीरगन्जको नेसनल मेडिकल कलेज पुर्याइएको थियो । तर, उनीहरूको पनि आइतबार राति साढे १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार