प्रेरक प्रसंग : प्रतिशोध होइन, मेलमिलाप

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

रंगभेदविरोधी अश्वेत नेता नेल्सन मन्डेला भर्खरै दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका थिए । एक दिन उनी खाना खान सुरक्षाकर्मीसहित एउटा रेस्टुरेन्टमा पुगे । उनीहरू सबैले आआफ्नो रुचिअनुसारका खाना अर्डर गरेर खानाको प्रतीक्षामा बसे । 

मन्डेलाको कुर्सीनजिकै अर्का एकजना व्यक्ति पनि खानाको प्रतीक्षामा देखिन्थे । तिनलाई देखेर मन्डेलाले आफ्ना सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नै टेबलमा बोलाउन लगाए । एकैछिनमा खाना आइपुग्यो । सबैजना चुपचाप खाना खान थाले । मन्डेलाको टेबलमा आमन्त्रित व्यक्ति पनि खाना खान थाले । तर, खाना खाँदा उनका हात र शरीर काँपिरहेका थिए ! निधारबाट चिटचिट पसिना बगिरहेको थियो । छिटोछिटो खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट बाहिरिए ।

उनी गइसकेपछि सुरक्षा अधिकारीले मन्डेलालाई भने– महामहिम, भर्खरै यहाँबाट गएका व्यक्ति धेरै बिरामी देखिन्थे । खाना खाने समयमा पनि उनका हात र शरीर लगातार कामिरहेका थिए ! पसिना पनि आइरहेको थियो । साह्रै आत्तिएका देखिन्थे ।

मन्डेलाले भने– तपाईंले भनेजस्तो ती बिरामी थिएनन् । यथार्थमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, उनी त्यही जेलका जेलर थिए । जब उनी मलाई यातना दिन्थे, म वेदना सहन नसकेर चिच्याई–चिच्याई पानी माग्थेँ, तब तिनले मेरो मुखमा पिसाब गरिदिन्थे । अहिले म देशको राष्ट्रपति छु । सायद उनलाई लाग्यो होला, उनको साथमा पनि मैले त्यस्तै व्यवहार गर्नेछु । बदलाको भावनाले काम गर्दा विकास होइन, विनाश हुन्छ भन्ने मलाई राम्रो ज्ञान छ । त्यसैले, प्रतिशोधले होइन, मेलमिलाप र सहकार्यबाट अघि बढ्न सकेको खण्डमा मात्र देशको विकास र समृद्धि सम्भव छ । त्यसैले, म कसैसित पनि बदला लिनेछैनँ ।

सुझावित समाचार