सीप सिकेर स्वरोजगार बन्दै तिलाका युवा

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

पछिल्लो समय बेरोजगारको नाममा हलो र थलो (जन्मभूमि) छोड्नेको संख्या बढ्दो छ। रोजगारीका लागि विदेश जाने युवाको ताँती लाग्ने क्रम बढिरहेको वेला जुम्ली युवा भने सीप सिकेर स्वदेशमै स्वरोजगार बन्ने प्रयास गरिरहेका छन्।

तिला गाउँपालिका– ९ माथिल्लो खोप्रीका रविकुमार थापा एकमहिने ड्राइभिङ सिक्दै आएका छन्। जिल्ला सदरमुकाम खलंगाबाट निकै टाढाको विकट बस्ती खोप्रीमा सिमी,  फापर, आलु, जौ, गहुँ र मकै बाली मात्रै उत्पादन हुन्छ। उत्पादन भएको बालीले ६ महिना पनि खाना पुग्दैन। बाँकी ६ महिना ज्याला–मजदुरी नगरी गुजारा टर्दैन। सीप सिकेर स्वरोजगार बनेपछि केही सहज होला भनेर ड्राइभिङ सिक्दै गरेको रवि बताउँछन्। उनले भने, ‘चारपांग्रे मोटर ड्राइभिङ सीप सिक्दै छु। काम पाइए राम्रै भयो, पाइएन भने पनि आफैँ अटो किनेर भए पनि चलाउने र स्वरोजगार बन्ने योजना बनाएको छु।’

तिला गाउँपालिका– १ रारालिहीका धनलाल परियारले पनि यस्तै योजना बनाएका छन्। उनी भन्छन्, ‘आफ्नो घर–आँगनमै कर्णाली राजमार्ग छ। एकमहिने ड्राइभिङ तालिम लिएको छु। चारपांग्रे गाडी चलाउन सक्ने भइसकेको छु। अब सवारीचालक अनुमतिपत्र लिएर गाडी नै चलाउने योजना छ।’ आफैँ किनेर व्यवसाय सञ्चालन गर्ने आर्थिक अवस्था नभए पनि अरूको गाडी चलाउन सक्ने उनले सुनाए। काम पाउँदै नपाए ऋण जोहो गरेर भए पनि पनि आफैँ तीनपांग्रे अटो किनेर स्वदेशमै स्वरोजगार बन्ने योजना रहेको उनले बताए।

धनलाल र रविजस्तै तिला गाउँपालिकाका १० युवाले एकमहिने ड्राइभिङ तालिम लिएर सीप सिकेका छन्। उनीहरूले वर्ल्डभिजन र किर्डाक नेपालको सहायतामा एकमहिने ड्राइभिङ तालिम लिएर सीप सिकेका हुन्।

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले एकमहिने ड्राइभिङ सीप सिकाइएको किर्डाक नेपाल जुम्लाका संयोजक दीपराज रावतले बताए। उनले भने, ‘बेरोजगार युवालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउन सीप सिकाइएको हो।’

सुझावित समाचार