भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।
दुईदिने नेपाल भ्रमणमा रहेका सचिव मिश्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार बिहान सहरी विकास मन्त्रालयमा भेट गरेका हुन्। भेटमा सहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायतका नदीको स्वच्छता र सफाइलगायत नेपाल–भारतबीच हुन सक्ने सहकार्यका विषयमा छलफल भएको छ।
उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको ‘स्वच्छ भारत अभियान’ र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुन सक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए। त्यस्तै, उनले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताए।
भारतका विदेशसचिव मिश्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ र सहयोग रहने बताएका थिए।