हवाई दुर्घटना न्यूनीकरण गर्न रक्षामन्त्री र कामु सेनापतिको सुझाव

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

देशमा हवाई दुर्घटना कम गर्न विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन र विमानको नियमित मर्मत–सम्भारमा जोड दिन रक्षामन्त्री मानवीर राई, कामु प्रधानसेनापति अशोक सिग्देललगायतले सुझाव दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आइतबार रक्षामन्त्री, सचिवहरू र सेनाका उच्च अधिकारीसँग हवाई दुर्घटना कम गर्ने विषयमा गरेको छलफलमा उनीहरूले यस्तो बताएका हुन् ।

भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटना अन्त्य गर्न ठाउँ–ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने सेनाले सुझाव दिएको छ । एक महिनामा जहाज र हेलिकोप्टर दुर्घटना भएपछि मन्त्री पाण्डेले सामूहिक छलफल गरेका हुन् । 

हालै भएका हवाई दुर्घटनाको छानबिन समिति गठन भएको छ । अध्ययन प्रतिवेदन भने आउन बाँकी छ । छलफलमा सेनाका अधिकारीहरूले हवाई सुरक्षाका लागि ओभरअल सिस्टम र नियम–कानुनको कमी नभएको, तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ)को गाइडलाइन फलो गर्नुनपरेको उनीहरूले प्रस्ट पारे ।  

यस्तै, धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), आइकाओ र सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

सुझावित समाचार