खेल राष्ट्रवाद : धर्मनिरपेक्ष आस्था वा घातक उत्साह ?

विश्वव्यापी खेलकुदले खेलाडीबीच एकता एवं मित्रता बढाए पनि खेल प्रशंसकबीच यस्तो हुन सकेको छैन

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

गत महिना युरोपेली फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेदरल्यान्ड्समाथि इंग्ल्यान्डले जित निकाल्दा बेलायती खेलकुदकर्मीले यसलाई ‘ऐतिहासिक’ जितका रूपमा खुसी मनाए र सो जितले ‘हामी सबैको जीवन परिवर्तन गर्नेछ’ भन्ने दाबी पनि गरे । उसो त यस्ता अतिशयोक्तिपूर्ण दाबी खेल टिप्पणीकारबीच सामान्य नै हो, तर यी कथनी अतिरञ्जित देखिन्छन् । यद्यपि, नेदरल्यान्ड्सजस्ता साना राष्ट्रले यी समारोहलाई विश्वव्यापी रूपमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने दुर्लभ अवसरका रूपमा हेर्छन् । प्रश्न उठ्छ, के बेलायतलाई यसप्रकारको प्रमाणीकरणको आवश्यकता छ ? जवाफ स्पष्ट छ, अर्थात् आवश्यकता भएको देखिन्छ ।

हंगेरीमा जन्मेका लेखक आर्थर कोस्टलर सामान्य राष्ट्रवाद र फुटबल राष्ट्रवादबीचको भिन्नता छुट्याउँछन् र पछिल्लो राष्ट्रवाद बलियो हुने गरेकोमा विश्वास गर्छन् । बेलायती नागरिक भए पनि कोस्टलर हंगेरी फुटबलकै एक समर्पित प्रशंसक रहे । फुटबल राष्ट्रवादको विशेषतामा झन्डा फहराउने, कविलावाद र आक्रामकता पर्छन्, जसमा उत्कट प्रशंसकको टेलिभिजनमा देखिने दृश्यले हाम्रो मूल जरालाई प्रतिध्वनित गर्छ । 

कविलावादी भावना प्रायः सामूहिक शत्रुताका रूपमा फस्टाउँछन् । उदाहरणका लागि बेलायती फुटबल प्रशंसकले कहिलेकाहीँ जर्मनीविरुद्धको खेलमा ‘टेन जर्मन बम्बर’ गाउँछन्, जहाँ प्रशंसकले बेलायती रक्षा विमानको उडानको नक्कल गर्छन् । ह्याम्बर्गमा भएको युरो १९८८ को सेमिफाइनलमा नेदरल्यान्ड्सले पश्चिम जर्मनीलाई हराएर च्याम्पियनसिपको दाबी गर्दा एम्स्टर्डममा मनाइएको उत्सव मे १९४५ मा नाजी कब्जाबाट मुक्ति पाएकोभन्दा बढी भयो । यो विजयले लामो समयदेखि चलिरहेको जर्मनविरोधी भावनालाई कम गरेको हुन सक्छ र पछि यो भावना निकै कमजोर पनि बन्यो । 

चेकोस्लोभाकियाको राजधानी प्रागमा सोभियत आक्रमणको ठीक एक वर्षपछि जब चेकोस्लोभाकियाको आइस–हकी टोलीले सन् १९६९ को विश्व च्याम्पियनसिपमा सोभियत संघलाई पराजित गर्यो तब उत्साहजनक विजयोत्सव मनाइयो, जसले व्यापक विरोध पनि निम्त्यायो । एक अमेरिकी कूटनीतिज्ञले यस उत्सवलाई सन् १९४५ मा नाजी मुक्तिपछिको आनन्दका रूपमा सम्झना गराएको उल्लेख गरेका थिए ।

राष्ट्रवादी जोस अप्रत्याशित लाग्न सक्छ, तर यसको शक्ति निर्विवादित छ । सन् १९८८ मा नेदरल्यान्ड्सले पश्चिम जर्मनीमाथि विजय हासिल गर्दा एक डचवासीका रूपमा मैले पनि उत्सव मनाएको थिएँ । कहिलेकाहीँ हिंसा निम्त्याउने खेलकुद राष्ट्रवादलाई सकारात्मक मान्न सकिन्छ ? भन्ने प्रश्न १९औँ शताब्दीको उत्तराद्र्धमा आधुनिक ओलम्पिकका संस्थापक ब्यारोन पियरे डे कुबर्टिन र उग्र–दक्षिणपन्थी विचारक एवं यहुदीद्वेषी एक्सन फ्रान्सेजका चाल्र्स मौरासबीच चर्को बहस भएको थियो । कुबर्टिनले अन्तर्राष्ट्रिय खेलले विश्वव्यापी एकतालाई प्रोत्साहन गर्छ भन्ने आशा गरेका थिए जब कि राष्ट्रवादी मौरासले खेलकुदले राष्ट्रिय शत्रुतालाई उत्तेजित गर्छ, तसर्थ यसले राष्ट्रवाद बढ्ने भन्दै अन्तर्राष्ट्रिय खेललाई समर्थन गरेका थिए ।

उसो त मौरासले सार्वभौम भ्रातृत्वको परिकल्पना कुबर्टिनको स्वैरकल्पना भन्दै प्रश्न गर्न पाए पनि उनको नश्लवादी विचारले दोस्रो विश्वयुद्धको भयावहताका लागि मार्गप्रशस्त गर्न मद्दत गरेको थियो । तर, यसको मतलब खेल राष्ट्रवाद स्वाभाविक रूपमा खराब छ भन्ने होइन । यसलाई साझा भावनाको अभिव्यक्तिका रूपमा पनि हेर्न सकिन्छ जसलाई नाटकीय वा औपचारिक निकास चाहिन्छ । खेलकुद र अन्य क्षेत्रमा हुने कविलावादले प्रायः धार्मिक, वैचारिक, जातीय, क्षेत्रीय वा राष्ट्रिय बफादारीलाई प्रतिबिम्बित गर्छ । यो विशेषतः फुटबलजस्ता सामूहिक खेलमा थप स्पष्ट हुन्छ ।

उदाहरणका लागि स्कटिस फुटबल क्लब सेल्टिक र रेन्जर्सबीचको प्रतिस्पर्धा उनीहरूको क्याथोलिक र प्रोटेस्टेन्ट पहिचानबाट उत्पन्न हुने गर्छ । लिभरपुल र म्यानचेस्टरका प्रशंसक लन्डनमा आधारित क्लबप्रति कडा द्वेष राख्छन् । यसबाहेक एज्याक्स (एम्स्टरडमको फुटबल क्लब) र टोटनहेम हटस्पर (लन्डनको फुटबल क्लब)ले एम्स्टर्डम र उत्तरी लन्डनका यहुदी समुदायसँगको सम्बन्धका कारण प्रतिद्वन्द्वीबाट अपमानजनक गालीगलौजको सामना गरिरहेका हुन्छन् । तर, यस्ता आबद्धताको कुनै वास्तविक आधार छैन । आजकाल फुटबल क्लब विश्वव्यापी उद्यम बनेका छन्, जसले विश्वभरबाट प्रतिभा भर्ती गर्छ । केवल केही मुट्ठीभर बेलायती खेलाडी वास्तवमा शीर्ष बेलायती टोलीका लागि खेल्छन् । त्यसैगरी नेदरल्यान्ड्स, जर्मनी, फ्रान्स, इटली र स्पेनका प्रमुख क्लबका लागि पनि यही तथ्य लागू हुन्छ ।

कुबर्टिनको दृष्टिकोण खेलाडीका लागि सही साबित भए पनि प्रशंसकका लागि सही साबित भएन । आजका व्यावसायिक खेलाडी जसले आकर्षक तलब पाउँछन्, यी विश्वव्यापी अभिजात वर्गका हिस्सा हुन् । कडा प्रतिस्पर्धाका बाबजुद खेलाडीले राष्ट्रिय र जातीय विभाजनलाई पार गर्दै मित्रता कायम गर्छन् । यद्यपि, यो मित्रताले प्रशंसकमाझ थोरै मात्र प्रभाव पार्छ यी प्रशंसक पनि टोटनह्याम, एज्याक्स वा बायर्न म्युनिखजस्ता क्लबलाई स्थानीय टोलीका रूपमा हेर्छन् जब कि यी टोलीमा मूलतः विदेशी खेलाडी र प्रशिक्षक मौजुद हुन्छन् ।

मौरासले भनेझैँ खेलकुद राष्ट्रवाद रगत र माटोको परम्परागत अवधारणाबारे कम हो । यो धार्मिक पूजाझैँ सम्बन्धको इच्छा, साझा भावना र नायकको प्रशंसाबारे बढी हो । धर्मनिरपेक्ष विश्वासजस्तै खेल राष्ट्रवादले खेलकुदको अतिशयोक्ति र प्रशंसकको तीव्र जोशको व्याख्या गर्छ । धर्म र खेलकुद दुवै सन्दर्भमा आदिवासी अनुष्ठानले कहिलेकाहीँ हिंसा निम्त्याउन सक्छ र यी अनुष्ठानले सामान्यतया भावनाको सुरक्षित निकास प्रदान गर्छ । हामी त्यस्तो संसारका लागि आशा गर्न सक्छौँ, जहाँ प्यालेस्टिनी र इजरायली खेलकुद प्रशंसकले फुटबल स्टेडियमको मैत्रीपूर्ण प्रतिस्पर्धामा अनुहारको रंग, झन्डा र हौसलासाथ आफ्ना खेलप्रेम व्यक्त गरून् ।

(बरुमा नेदरल्यान्ड्सका लेखक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार