कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा ०८२ भित्रै १५औँ महाधिवेशनको सुनिश्चितताको आवाज उठेको छ । आइतबार धारणा राख्ने क्रममा संस्थापनइतर केन्द्रीय सदस्यहरूले नेतृत्वको नियतमाथि प्रश्न गर्दै ०८२ मै नियमित महाधिवेशन सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन् ।
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी नेतृत्व ०८२ मा महाधिवेशन नगर्ने प्रपञ्चमा लागेको आरोप लगाए । यद्यपि, कुनै पनि बहानामा महाधिवेशनमा ढिलाइ गर्न नहुने उनको चेतावनी छ । ‘कांग्रेसको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यतालगायत समस्या तत्काल समाधान गरी ०८२ मंसिरमा १५औँ महाधिवशनको सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ,’ उनले भने ।
कोइरालाले कांग्रेस–एमाले गठबन्धनले जनस्तरमा महसुस गर्ने गरी परिणाम ल्याउनुपर्ने पनि बताए । उनले सरकार भएको महसुस गराउन नसके यसको परिणाम कांग्रेस र समग्र देशले भोग्नुपर्ने चेतावनी दिए । सुशासनको प्रतिबद्धतामा सरकारको सुरुवातीमाथि नै उनले आलोचना गरे । ‘संघ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?’ कोइरालाले भने, ‘गठबन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन् । सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा छ ।’
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि पार्टी विधानअनुरूप चल्नुपर्ने बताए । उनले पनि सभापतिको भूमिकामाथि प्रश्न गर्दै ०८२ मा नियमित महाधिवेशन हुनुपर्ने विषयलाई संकेत गरेका छन् । ‘पार्टी दुर्बल हुँदा न लोकतन्त्र, न त हामी नै सबल हुन सक्छौँ । तर, निश्चित नीति, विधि, पद्धति र प्रक्रियाभित्र रहेर गुट–उपगुट, गिरोह–उपगिरोहभन्दा माथि उठ्न र एकताबद्ध बनाउनु सभापतिजीको जिम्मेवारी हो,’ उनले भने । जनभावनाको सम्बोधन हुने गरी रोडम्याप बनाएर सांगठनिक अभियान चलाउनुपर्ने र सत्ता सहमतिका सातबुँदे सहमतिका आधारमा तत्काल साझा न्यूनतम कार्यक्रमको तयारी हुनुपर्ने उनको भनाइ थियो । साथै, संविधान संशोधनका लागि सबै पक्षको सहमति निर्माणमा सरकारले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘वर्तमान सरकारको सफलता राष्ट्रकै निमित्त एउटा ठूलो अवसर बन्न सक्छ र बनाउनुपर्छ ।
यसको असफलताले सम्पूर्ण पद्धतिमा नै संकट आउन सक्छ भन्ने हेक्का हामीले राख्नुपर्ने जरुरी छ,’ केसीले भने ।केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ०८२ मंसिरभित्र महाधिवेशन सुनिश्चित हुने गरी कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘महाधिवेशन भएको तीन वर्ष पूरा हुने क्रममा छ । विधानतः मंसिर ०८२ भित्र १५औँ महाधिवेशन गर्न अब समयबद्ध कार्यतालिका ल्याउन ढिलो गर्नुहुन्न,’ उनले भने । कांग्रेस र एमालेको सहभागितामा बनेको यो सरकारले नागरिकमा व्याप्त निराशा तोड्ने गरी आशाको सञ्चार गर्नुपर्ने उनले धारणा राखे । शिवाकोटीले कांग्रेस–एमाले सरकार बने पनि विगतमा कांग्रेसले राख्दै आएका मुद्दामाथि नजरअन्दाज गर्न नमिल्ने बताए ।
केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले पनि महाधिवेशको तयारी थाल्नुपर्नेमा जोड दिए । उनले सरकारले जिम्मेवार भएर संरचनात्मक समस्याको सम्बोधनमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखे । उनले पछिल्लो दशकमा सरकारहरूले अर्थतन्त्रको अवस्था सुधार गर्नेतर्फ आवश्यक इमानदार प्रयास नगरेको आरोप पनि लगाए । ‘राजनीतिक रूपमा सत्तागठबन्धन गर्ने सम्बन्धमा दलीय सहमत भई संविधानसमेत संशोधन गर्न तयार हुन्छौँ, तर आर्थिक अवस्था सुधार्न नीतिगत सुधारका लागि पनि यस्तै दलीय सहमति गर्न कांग्रेसले नै अग्रसरता लिनुपर्यो र पहल गर्नुपर्यो,’ पोखरेलले भने । उनले नयाँ गठबन्धन बनेदेखि पुँजी बजार गतिशील हुनु राम्रो संकेत भएको र यसको गतिशीलतावाट सरकारले फाइदा लिन नसकेको र नीतिगत कमजोरीका कारणले आर्थिक असमानता बढाउने काम गरेको बताए ।