नेपाल प्रहरीमा ३० वर्षे सेवावधि हटाइँदै

संघीय प्रहरी ऐन एक महिनाभित्र संसद्मा पेस गर्ने तयारी, ऐन नहुँदा अधुरै थियो प्रहरी समायोजन

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने प्रावधानसहित गृह मन्त्रालयले संघीय प्रहरी ऐन निर्माण प्रक्रिया अघि बढाएको छ । गृहका अनुसार महिना दिनभित्र ऐनका लागि तयार विधेयक संसद्मा पेस हुनेछ । गृह मन्त्रालय सम्हालेलगत्तै गृहमन्त्री रमेश लेखकले मातहत कार्यालयको ‘ब्रिफिङ’ लिने क्रममा अबको महिना दिनभित्र विधेयक संसद्मा पेस गरिने बताएका थिए । त्यसलगत्तै विधेयकका सम्बन्धमा प्रहरी प्रधान कार्यालय नक्साल र गृह मन्त्रालयमा पटक–पटक दफवार छलफल भएका छन् । 

गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले संघीय प्रहरी ऐन निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेको बताए । ‘लामो समयदेखि अड्किएर बसेको संघीय प्रहरी ऐन निर्माण प्रक्रियाले गुणात्मक रूपमा गति लिएको छ । विधेयकका सम्बन्धमा प्रहरी प्रधान कार्यालय र गृह दुवै ठाउँमा पटक–पटक दफावार छलफल भएका छन्,’ उनले भने, ‘अबको महिना दिनभित्र विधेयक संसद्मा पेस हुने गरी निर्माण प्रक्रिया अघि बढेको छ । ३० वर्षे सेवा अवधि हटाउने सम्बन्धमा सबैको एउटै मत छ । सोहीअनुसार प्रक्रिया अघि बढेको छ ।’

केही वर्षदेखि चासोका साथ लिइएको ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले ०७९ मंसिरमै सैद्धान्तिक सहमति दिएको थियो । त्यसो हुँदा विधेयक निर्माणका सम्बन्धमा अर्थबाट थप सहमति लिनुपर्दैन । तर, कानुन मन्त्रालयको सहमति लिन बाँकी छ । गृहका अनुसार कानुन मन्त्रालयबाट स्वीकृत भएलगत्तै विधेयक मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेपछि विधेयक संसद्मा पेस हुनेछ ।

संघीय प्रहरी ऐन बन्न नसक्दा संघ र प्रदेशबीच प्रहरी समायोजन हुन सकेको छैन । जब सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्न चार वर्षअघि नै ‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६’ निर्माण गरिसकेको छ । त्यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने सम्बन्ध (नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६) मा पनि चार वर्षअघि नै ऐन बनेको छ । सोही ऐनअनुसार प्रहरी समायोजन गर्न भन्दै सातै प्रदेशका मुख्यमन्त्रीले सरकारसँग पटक–पटक आग्रह गरेका छन् । तर, ऐन नहुँदा समायोजनको प्रक्रिया अघि बढ्न सकेको छैन । 

३० वर्षे सेवा अवधि हटाउन तीन विकल्प 
नेपाल प्रहरीमा प्रहरी कर्मचारी सेवा अवधि, पदावधि र उमेरहद गरी तीन किसिमले सेवाबाट अवकाश हुँदै आएका छन् । जसमध्ये अधिकांश प्रहरी कर्मचारी ३० वर्षे सेवा अवधिका कारण पदावधि र उमेरहद बाँकी नै छँदा अवकाशमा जानुपर्ने स्थिति छ । तर, अब सेवा अवधि हटाएर ऐन बनाउने गृहकार्य छ । त्यस्तो ऐन कार्यान्वयन हुँदा प्रहरी कर्मचारी अब उमेरहद र पदावधिका कारण मात्रै अवकाशमा जानेछन् । जसका लागि अहिले तीनवटा विकल्पमा छलफल भइरहेको छ । पहिलो विकल्पमा आइजिपीको उमेरहद ६० र पदावधि तीन वर्ष राखिएको छ । त्यस्तै, एआइजीको उमेर ५९ र पदावधि चार वर्ष, डिआइजी उमेरहद ५९ र पदावधि चार वर्ष, एसएसपीको उमेरहद ५८ र पदावधि आठ वर्ष कायम गरिएको छ । बाँकी तहका प्रहरी कर्मचारी भने सबै उमेरहदका कारण अवकाशमा जानेछन् । 

त्यस्तै, विकल्प २ मा आइजिपीको उमेरहद ६० र पदावधि तीन वर्ष राखिएको छ । त्यस्तै, एआइजीको उमेर ५९ र पदावधि दुई वर्ष, डिआइजी उमेरहद ५९ र पदावधि पाँच वर्ष, एसएसपीको उमेरहद ५८ र पदावधि आठ वर्ष कायम गरिएको छ । बाँकी तहका प्रहरी कर्मचारी भने सबै उमेरहदका कारण अवकाशमा जानेछन् । उनीहरूको उमेरहद फरक–फरक कायम गरिएका छन् । विकल्प ३ अन्तर्गत आइजिपीको उमेरहद ६० र पदावधि तीन वर्ष नै राखिएको छ । त्यस्तै, एआइजीको उमेर ५९ र पदावधि चार वर्ष, डिआइजी उमेरहद ५९ र पदावधि पाँच वर्ष, एसएसपीको उमेरहद ५८ र पदावधि आठ वर्ष नै कायम गरिएको छ । बाँकी तहका प्रहरी कर्मचारी भने सबै उमेरहदका कारण अवकाशमा जानेछन् । उनीहरूको पनि उमेरहद फरक–फरक कायम गरिएका छन् । 

३२ वर्षदेखि प्रहरीमा ३० वर्षे सेवाहदको राजनीति
एकैपटक सयभन्दा धेरै सिनियर प्रहरीले अवकाश पाउँदै 

नेपाल प्रहरीमा विगत ३२ वर्षदेखि ३० वर्षे सेवाहदको राजनीति चल्दै आएको छ । ०४९ मा ३० वर्षे सेवाहद लागू गरी तत्कालीन आइजिपी रत्नशमशेर जबरालाई हटाएर मोतीलाल बोहरा आइजिपी बनेका थिए । बोहरालाई आइजिपी बनाउनकै लागि त्यसवेला सेवाहद हटाइएको थियो । उनलाई आइजिपी बनाएलगत्तै फेरि हटाइयो । पछि फेरि ०६४ सालदेखि सेवाहद लागू भयो । त्यसयता पटक–पटक सेवाहद हटाउन छलफल भए पनि दुईथरी प्रहरी अधिकारीको टक्करका कारण रोकिँदै आएको छ । 

विभिन्न अध्ययन प्रतिवेदनले पनि सेवाहद हटाउन सिफारिस गरेका छन् । प्रहरी सुधार सुझाव आयोग, २०५५ को प्रतिवेदनमा ‘उमेर र पदावधिको हदले नै विभिन्न तहका प्रहरी कर्मचारी विभिन्न उमेर पुगेपछि स्वतः अवकाशमा पर्ने हुनाले वर्तमान ३० वर्षे सेवा अवधि हटाउन उपयुक्त हुने देखिन्छ’ भन्ने सिफारिस थियो । युवराज संग्रौला नेतृत्वको सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६५ ले प्रहरीको सेवानिवृत्तको आधार, उमेर र पदावधि मात्र कायम राख्न र ३० वर्षे अवधि हटाउने सिफारिस गरेको छ । त्यस्तै, कुवेरसिंह राना नेतृत्वको आयोगले पनि नेपाल प्रहरीको अवकाश सम्बन्धमा उमेरको हद र पदावधि मात्र कायम राख्नुपर्ने भनेको छ । 

तैपनि अवकाश हुन लागेका र नेतृत्वको दाबी गर्ने दुई ब्याचका अधिकारीबीचको संघर्षका कारण सेवाहदको प्रावधान संशोधन हुन सकेको छैन । आगामी १५ भदौदेखि नेपाल प्रहरीका डिआइजीसहित करिब सयजना सिनियर प्रहरीले अधिकृत ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदै छन् । जसकारण उनीहरू जसरी पनि हटाउनुपर्ने पक्षमा लबिइङ गरिरहेका छन् । तर, प्रहरीमा आगामी चैतपछि आइजिपी हुने ब्याचका अधिकारी हटाउन नहुने पक्षमा छन् । 

३० वर्षे सेवाहदका कारण ५४–५५ वर्षमै धेरै उच्च प्रहरी अधिकारीले अवकाश पाउँदा राज्यले दक्ष जनशक्ति गुमाउने गरेको छ । अर्काेतर्फ भर्ना प्रक्रियामा राज्यको खर्च हुन्छ भने पेन्सनको भार पनि बढ्ने गरेको छ । नेपाल प्रहरीमा यस्तो सेवाहद विभेदकारी भएकोसमेत प्रहरीको गुनासो छ । नेपाली सेनामा सेवाहद छैन, प्रधानसेनापतिको अवकाशको उमेरहद ६१ वर्ष छ । राष्ट्रिय अनुसन्धान विभागमा भने चार वर्षअघि नै सरकारले ३० वर्षे सेवाहद बढाएर ३२ वर्ष बनाएको थियो । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले पनि हालै ३० वर्षे सेवाहद हटाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन दिएको छ । मन्त्रालयका अनुसार सेवाहद हटाउने विभिन्न विकल्पसहित प्रतिवेदन बुझाइएको छ । आइजिपीको रोलक्रममा रहेका ब्याचका अधिकृतलाई समेत असर नगर्ने गरी सेवाहद हटाउन सकिने सुझाव प्रतिवेदनमा समावेश छ । 

 क–कसले अवकाश पाउँदै छन् ? 
नेपाल प्रहरीमा ३० वर्षे सेवाहदका कारण डिआइजी विष्णु केसीसहित करिब सयजनाले आगामी १५ भदौदेखि अवकाश पाउँदै छन् । यसमा १२ एसएसपी छन् । एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले एकैदिन अवकाश पाउनेछन् । त्यस्तै, ११ एसपीले पनि अवकाश पाउनेछन् । कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधानले अवकाश पाउन लागेका हुन् । 

सुझावित समाचार