कालिकामाईका करार कर्मचारीको धर्ना जारी

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

पर्साको कालिकामाई गाउँपालिकामा करारका कर्मचारीहरूको जारी आन्दोलनमा नेकपा एमाले र नेपाली कांग्रेससहित बहुमत गाउँ परिषद् सदस्यले ऐक्यबद्धता जनाएका छन्।

विगत ९ वर्षदेखि काम गरिरहेका पालिकाको स्वास्थ्य संस्थाअन्तर्गतका कर्मचारीहरूलाई हटाउनुपर्ने कुनै कारण नरहेकाले अविलम्ब म्याद थप गर्नुपर्ने मागमा एमाले र कांग्रेसका पालिका समितिले ऐक्यबद्धता जनाएका हुन्। आन्दोलनरत करार कर्मचारीहरूको अगामी २४ घण्टाभित्र म्याद थप नगरिए कडा आन्दोलनमा उत्रिने दुवै दलले छुट्टाछुट्टै विज्ञप्तिमार्फत चेतावनी दिएका छन्।

एमालेको पालिका कमिटी सचिव विजय साह गोढद्वारा हस्ताक्षरित विज्ञप्तिमा पालिका अध्यक्षको अदूरदर्शिता र अनुभवहीन कामले परिषद्, बजेट तर्जुमा तथा जनताले पाउने सेवासुविधा प्रभावित हुनुका साथै भ्रष्टाचार र बेथिति मौलाएको आरोप छ। यसैगरी, कांग्रेसको कालिकामाई पालिका समितिका सचिव रामानन्द ठाकुरद्वारा जारी विज्ञप्तिमा कर्मचारीहरूको माग पूरा नगरे पार्टीबाट जनदबाब सिर्जना गरी साउन २९ देखि पालिकाको सम्पूर्ण कामकाज ठप्प गर्ने चेतावनी दिइएको छ।

यसैबीच, पालिकाकी उपमेयर राजमती देवी, वडा नम्बर ३ का अध्यक्ष संजय पटेल, वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नम्बर ४ का अध्यक्ष संजय साहलगायत बहुमत परिषद् सदस्यले हस्ताक्षर गरी कर्मचारीहरूको म्याद थप गर्न आग्रह गरेका छन्। कर्मचारीहरूको धर्नाको ८औ दिन पालिकाको मुख्य गेटमा एमाले र कांग्रेसका पालिकास्तरीय नेता तथा परिषद् सदस्य पुगेर ऐक्यबद्धता जनाएका थिए। 

लामो समयदेखि विभिन्न स्वास्थ्यचौकीमा कार्यरत करारका कर्मचारीलाई हटाएपछि करारका कर्मचारी गत मंगलबारदेखि पालिकाको गेटमा धर्नामा छन्।

सुझावित समाचार