युरोपियन च्याम्पियनसिप जितेको एक महिनापछि नै स्पेनले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेको छ । फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको हो । स्पेनलाई जित दिलाउन फेर्मिन लोपेज र सर्जियो कामेलोले समान दुई गोल गरे । एलेक्स बाइनाले एक गोल थपेका हुन् । फ्रान्सबाट एन्जो मिलोट, मघ्नेस अक्लिओच र जेन फिलिप मटेटाले समान एक गोल फर्काए ।
स्पेनले टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो । ओलम्पिकको इतिहासमा स्पेनले दोस्रोपटक पुरुष फुटबलतर्फ स्वर्ण जितेको हो । स्पेनले यसअघि सन् १९९२ बार्सिलोनामा भएको ओलम्पिकमा स्वर्ण जितेको थियो । यता, स्पेनले यसै वर्ष जर्मनीमा भएको युरोमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । यसै वर्ष स्पेनको महिला टोलीले विश्वकप तथा स्पेनको यू–१९ टिमले युरोपियन च्याम्पियसिपको उपाधि उचालेको थियो ।
खेलमा फ्रान्सले अग्रता बनाएपछि स्पेनले दबाब बनाउँदै पुनः अग्रता बनाएको थियो । फाइनल खेलको निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट थपिएको थियो । जहाँ स्पेन पूरा हाबी भयो । मिलोटले ११औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए, तर १८औँ मिनेटमा बार्सिलोना स्टार लोपेजले गोल गर्दै स्पेनलाई बराबरीमा फर्काएका हुन् । २५औँ मिनेटमा लोपेजकै गोलमा स्पेनले अग्रता २–१ को बनायो ।
२८औँ मिनेटमा बाइनाले सुन्दर फ्रिकिक गोल गर्दै स्पेनलाई पहिलो हाफमा ३–१ को सहज अवस्थामा पुर्याए । अक्लिओचले ७९औँ मिनेटमा गोल गर्दै अग्रता ३–२ मा झारे । इन्जुरी समयमा मटेटाले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका हुन् । ३० मिनेट थपिएपछि वैकल्पिक खेलाडी कामेलो चम्किए । उनले १००औँ मिनेटमा चौथो गोल गरे । इन्जुरी समयमा पुनः व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ६० हजार समर्थकबीच स्वर्ण पदक पक्का गराएका हुन् ।